काठमाडौँ । उपत्यकावासीका लागि राहत हुने गरी काठमाडौँमा मंगलवारदेखि वाइफाइ सुविधासहितको रात्रिकालीन बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको समन्वय तथा सहकार्यमा पुल्चोकबाट सेवा सुरु गरिएको हो ।
सेवा सञ्चालनका लागि चार स्थानीय तहका प्रमुखहरूले समन्वय र सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन ।
प्रारम्भिक चरणमा ७ वटा बस सञ्चालनमा ल्याइएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै प्रत्येक बसमा ४ वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ ।
नियन्त्रण कक्षबाट निगरानी गर्न सकिने भएकाले सामान हराउने तथा दुव्र्यवहारजस्ता घटनालाई तत्काल नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ । साथै, प्रत्येक बसमा एक–एक जना नगर प्रहरीसमेत खटाइएको छ ।
सेवा प्रारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन सेवालाई दिगो बनाउँदै भविष्यमा विहानी बस सेवा पनि सुरु गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले विगतका अभ्यास आर्थिक प्रतिफलमा केन्द्रित भए पनि अहिले गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । यसबाट विद्यार्थी, साना व्यवसायी तथा श्रमिक वर्गलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय तहबीचको आर्थिक साझेदारी सेवा दिगोपनाको मुख्य आधार हुने बताउँदै सेवाबाट धेरै नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले थानकोट नाकाबाट दैनिक करिब ५० हजार व्यक्ति आवतजावत गर्ने भएकाले रात्रिकालीन सेवाले आवागमन सहज बनाउने र पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले स्थानीयवासीबाट सेवाप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिँदै सेवाको विस्तार आवश्यक रहेको धारणा राख्नुभयो ।
नगरपालिकाहरूले साझा यातायातसँगको सहकार्यमा सेवा सञ्चालन गरेका हुन । आउँदो असार मसान्तसम्म सेवाको लागत साझा यातायातले व्यहोर्ने र त्यसपछि खर्च विश्लेषणका आधारमा स्थानीय तहहरूले लागत साझेदारी गर्ने योजना रहेको साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलले जानकारी दिनुभयो ।
पूर्व अभ्यासका क्रममा बुढानीलकण्ठबाट बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक र ४६ मिनेटमा लगनखेल पुगेको थियो ।
त्यस्तै थानकोटबाट छुटेको बस २१ मिनेटमा कलंकी चोक र ४५ मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।
दक्षिण रुट (लगनखेल–बुढानीलकण्ठ) को एकतर्फी दूरी १६ किलोमिटर रहेको छ भने पूर्व–पश्चिम रुट (थानकोट–विमानस्थल) को दूरी २० किलोमिटर छ ।
विभिन्न चार प्रारम्भिक बिन्दुबाट बस छुट्ने व्यवस्था मिलाइएकाले प्रत्येक विसौनीमा करिब २०–२० मिनेटको अन्तरमा बस उपलब्ध हुने बताइएको छ ।
रात्रिकालीन बस सेवा सुरु भएसँगै उपत्यकामा रातिको सार्वजनिक यातायात अभाव केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।
Categorized in पालिका