काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो आयोजित भेटघाट तथा छलफलमा उनले प्रदेशका सांसदहरूसँग प्रत्यक्ष संवाद गरेका हुन ।
प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग चरणबद्ध रूपमा छलफल थालेका थिए ।
सोही क्रमअन्तर्गत अन्य सबै प्रदेशका सांसदहरूसँग यसअघि नै छलफल सम्पन्न गरिसकेपछि सोमबार बागमती प्रदेशका सांसदहरूसँग संवाद गरेका हुन ।
छलफलका क्रममा सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका स्थानीय समस्या, विकासका प्राथमिकता, तत्काल समाधान गर्नुपर्ने विषय तथा दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सकिने योजनाबारे सुझाव राखेका थिए ।
प्रधानमन्त्री शाहले ती विषयहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै संघ–प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार अघि बढिरहेको बताए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रदेशस्तरका विकास योजनालाई संघीय सरकारसँग समन्वय गरेर छिटो कार्यान्वयनमा लैजान यस्तो संवादलाई निरन्तरता दिइनेछ ।
Categorized in राष्ट्रिय