काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ ।
साँझपछि सार्वजनिक सवारीको अभावले सर्वसाधारणले भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार बेलुका ८ बजेपछि सार्वजनिक यातायात उपलब्ध नहुँदा यात्रुहरूलाई महँगो भाडा तिर्नु पर्ने अवस्था रहेको छ ।
विशेषगरी महिला, किशोरी तथा विद्यार्थीहरूले विभिन्न असुविधा र असुरक्षाको सामना गर्नु परेकाले यसलाई मध्यनजर गर्दै सेवा सञ्चालन गर्न लागिएको बताइएको छ ।
यो सेवा अन्तर्गत दुईवटा मुख्य रुट निर्धारण गरिएको छ। पहिलो रुट ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म सञ्चालन हुनेछ ।
यो उत्तर–दक्षिण दिशामा करिब १६ किलोमिटरको एकतर्फी दूरीको रुट हो ।
दोस्रो रुट थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। यो पूर्व–पश्चिम दिशामा करिब २० किलोमिटरको एकतर्फी दूरी समेट्नेछ ।
यी दुई रुटमा चारवटा विद्युतीय बस सञ्चालन गरिनेछन्। प्रारम्भिक चरणमा बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म चल्नेछन् भने हरेक बस स्टपमा २० मिनेटको अन्तरालमा सेवा उपलब्ध हुनेछ ।
यात्रुुको सुरक्षालाई ध्यानमा राख्दै बसहरूमा सीसीटिभी क्यामरा जडान गरिनेछ र नगर प्रहरीको समेत व्यवस्था गरिनेछ। महानगरपालिकाले यो सेवामार्फत अत्याधुनिक, सुरक्षित, सहज र दिगो सार्वजनिक यातायात प्रणाली विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।
Categorized in पालिका