१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

जनबहाः द्यः रथयात्रा तयारी पुरा, जात्रा भव्य र सफल बनाउन अपिल 


प्रकाशित: बुधवार, ११ चैत २०८२, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा यस वर्ष चैत १२ गतेदेखि सुरु हुने भएको छ । 


परम्पराअनुसार प्रत्येक वर्ष मनाइँदै आएको उक्त रथयात्राको तयारी पूरा भएको सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ ।


स्थानीय नेवार समुदायमा “जनबहाः द्यः” को रूपमा सम्मान गरिने करुणामयलाई बौद्ध परम्परामा अवलोकितेश्वरको अवतार र हिन्दू परम्परामा करुणा र सहअस्तित्वको प्रतीकका रूपमा लिई श्रद्धा भक्ति गरी पूजा अर्चना गरिँदै आएको यस परम्पराको संरक्षण र संवर्द्धन गर्दै आइएको छ। मल्लकालीन राजा यक्ष मल्लको शासनकालसँग ऐतिहासिक रूपमा सम्बन्धित यस जात्राले जीवन–मृत्यु चक्रको सन्तुलन, करुणा, सहअस्तित्व र हिन्दू–बौद्ध सांस्कृतिक समन्वयको अनुपम उदाहरण प्रस्तुत गर्दछ।


यस वर्ष रथयात्रा चैत १२ गते मंगलवारदेखि चैत १८ गते सोमबारसम्म हुनेछ। चैत १२ गते साँझ ५ बजे जमल तिनधारा पाठशालाबाट रथयात्रा सुरु भई घण्टाघर, रत्नपार्क र भोटाहिटी हुँदै असन पुराइन्नेछ । चैत १२ गते साँझ ९ बजे महामहिम राष्ट्रपतिबाट असनमा सवारी भई सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) को दर्शन गरिनेछ। चैत १३ गते साँझ ५:३० बजे असनबाट हनुमानढोकासम्म, चैत १४ गते साँझ ४:०० बजे हनुमानढोकाबाट लगनसम्म रथयात्रा हुनेछ। चैत १८ गते महत्त्वपूर्ण वहालमा सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) विराजमान भएपछि जात्रा समापन हुनेछ। 


सेतो मच्छिन्द्रनाथलाई करुणा र सहअस्तित्वको प्रतीकका रूपमा हिन्दू र बौद्ध दुवै समुदायले श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहिआएको छ । यो रथयात्रा धार्मिक मात्र नभई सामाजिक एकता र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक मानिन्छ ।


यस वर्षको रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न संघसंस्था, स्थानीय समुदाय, सुरक्षा निकाय तथा स्वयंसेवकहरू सक्रिय रूपमा परिचालित गरिएको समितिले जनाएको छ । 
ट्राफिक व्यवस्थापन, सुरक्षा प्रबन्ध, विद्युत् तार व्यवस्थापन लगायतका तयारीहरू सम्पन्न भइसकेका छन । 


कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, रेडक्रस, स्काउट लगायतका निकायको सहभागिता रहनेछ । साथै, पर्यटकहरूका लागि पनि रथयात्रा अवलोकन गर्न विशेष व्यवस्था मिलाइएको बताइएको छ ।


समितिले सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा सर्वसाधारणलाई रथयात्रामा सहभागी भई सभ्य र मर्यादित रूपमा सहयोग गर्न आग्रह गरेको छ । 


साथै, अनुशासन कायम राख्न, ट्राफिक नियम पालना गर्न र सुरक्षा व्यवस्थामा सहयोग गर्न पनि अनुरोध गरिएको छ ।


आयोजकले सेतो मच्छिन्द्रनाथको कृपा र आशीर्वादले देशमा शान्ति, समृद्धि र सहअस्तित्व कायम रहने विश्वास व्यक्त गरेको छ ।


विज्ञप्तीः

 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex