काठमाडौं । शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.का नामको नक्कली कागजात बनाई किर्ते गरी करिब ७० करोड रुपियाँ बरावरको ठगी गर्ने कम्पनी राजिष्ट्रार कार्यलयका कर्मचारीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रिय अनुसन्धान व्यूरोको टोलीगले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका–८ बस्ने मकवानपुर हेटौडा–४ का ४५ वर्षीय राजन प्रसाद लम्साल, सोही नगरपालिका–१४ बस्ने ४० वर्षीय निरजकुमार मानन्धर, रामेछाप सुनापाती गाउँपालिका–१ बस्ने ३३ वर्षीय जितबहादुर मगर रहेका छन । उनीहरु मुख्य योजनाकार रहेको खुल्न आएको छ ।
त्यसैगरी काठमाडौं पेस्पीकोला बस्ने मोरङ रतुवामाई नगरपालिकाका ४० वर्षीय पुण्यप्रसाद खरेल, काभ्रे चौबास घर भई बुढानिलकण्ठ बस्ने ४० वर्षीय साईला भन्ने राजकुमार तामाङ, चन्द्रागिरी नगरपालिका–१० बस्ने ३१ वर्षीय हिमाल महर्जन, सोही ठाउँ बस्ने ५५ वर्षीय चिरीबाबु महर्जन र बारा निजगढ नगरपालिका–१ घर भई कलंकी बस्ने २८ वर्षीय अमृत थापा मगर रहेका छन ।
साथै प्रहरीले कम्पनी रजिष्टारको कार्यालयका सहायक रजिष्ट्रार नारायण प्रसाद पोखरेल र उमेशमान जोशी तथा सोही कार्यालयमा करारमा कार्यरत २ जना कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उक्त ठगी कार्यमा संलग्न कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना हाल फरार रहेका छन ।
काठमाडौं महनगरपालिका–४ चुनदेवी बस्ने प्रालिका संचालक एवं अध्यक्ष भारतीय नागरिक राम निरंजन जटियाको नक्कली कागजात बनाएर ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई व्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष जितबहादुर मगर हो भनी कम्पनीको नाममा रहेको काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित कित्ता नम्बर ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगलको कित्ता नंम्बर १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा कम्पनीको नाममा रहेको जग्गा बेचबिखन गर्न बैना गरेका थिए ।
जटियाको घरमा १६ वर्षदेखि काम गर्दै आएका जितबहादुरले उक्त कम्पनीको कागजात चोरी गरी लम्साल र मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरेर सम्पूर्ण शेयरहरू खरिद गरेको भनी कम्पनी रजिष्ट्रारको कार्यालयबाट जितबहादुरको नाममा नामसारी गरेका थिए ।
उनीहरुलाई बिद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा प्रहरीले अनुसन्धान पश्चात अनुसन्धान प्रतिबेदन जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा पेश गरेको सो व्यूरोले जनाएको छ ।
Categorized in समाज