काठमाडौं — जनबहाःद्य (सेतो मच्छिन्द्रनाथ रथयात्रा) सञ्चालनका लागि काठमाडौँ महानगरपालिका ले विस्तृत तयारी अघि बढाएको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले जात्रालाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन बहुआयामिक योजना तय गरेको हो ।
महानगरपालिकाले यस वर्ष जात्राका लागि उपलब्ध गराउने बजेट १० लाखबाट बढाएर २० लाख रुपैयाँ पुर्याएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रहरी तथा प्रशासनिक संयन्त्र पूर्ण रूपमा परिचालन गरिने जानकारी दिए । महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत ले जात्रा अवलोकनका लागि अनुकूल वातावरण बनाउन पूर्वाधार व्यवस्थापनमा जोड दिए ।
गुठी संस्थानका प्रशासक शैलेश कुँवर ले रथ निर्माण, पूजाआजा र तालिका व्यवस्थापन समयमै सम्पन्न गरिने बताए ।
त्यस्तै, मूल पुजारी नीलकाजी शाक्य ले जात्राको सन्देश शान्ति, करुणा र सहअस्तित्वसँग जोडिएको उल्लेख गर्दै सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए ।
रथयात्राको तालिका
जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार यस वर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ ।
चैत १२ गतेः जमलमा रथमा मूर्ति प्रतिस्थापनपछि रत्नपार्क–भोटाहिटी हुँदै असनसम्म यात्रा
उही दिन राति असनमा राष्ट्रपतिद्वारा दर्शन कार्यक्रम
चैत १३ गतेः असनबाट इन्द्रचोक हुँदै हनुमानढोका
चैत १४ गतेः हनुमानढोका–जैसीदेवल–लगन
चैत १५ गतेः लगनमा परिक्रमा
चैत १६ गतेः लगनबाट जनबहालसम्म अन्तिम यात्रा र समापन
धार्मिक र सांस्कृतिक महत्व
सेतो मच्छिन्द्रनाथ लाई करुणा, वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पूजा गरिन्छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरू दुवैका लागि यो साझा आस्थाको केन्द्र हो ।
यस देवताको अन्य नाम करुणामय र आर्यअवलोकितेश्वर पनि मानिन्छ ।
मान्यता अनुसार यस जात्रामा सहभागी हुँदा अनिष्ट टर्छ, अकाल मृत्युबाट बचिन्छ र घरमा सुख–शान्ति तथा समृद्धि भित्रिन्छ। यही कारणले हरेक वर्ष ठूलो संख्यामा भक्तजन सहभागी हुने गर्छन ।
ऐतिहासिक पृष्ठभूमि
किंवदन्ती अनुसार प्राचीन समयमा जमल क्षेत्रमा खेत खन्ने क्रममा सेतो मच्छिन्द्रनाथ को मूर्ति फेला परेको थियो। उक्त मूर्तिलाई घरमा राख्दा अन्न, समृद्धि र शान्ति बढेको विश्वास गरिन्छ ।
पछि देवतालाई सम्मानपूर्वक जनबहालमा स्थापना गरियो, र त्यही घटनालाई स्मरण गर्दै हरेक वर्ष जमलबाट रथयात्रा सुरु गर्ने परम्परा बस्यो ।
महास्नान र अन्य परम्परा
पुस शुक्ल अष्टमीका दिन ‘महास्नान’ गर्ने परम्परा पनि यससँग जोडिएको छ । शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ल्याइएको पानीले देवताको स्नान गराइन्छ । यस क्रममा तातो र चिसो पानी प्रयोग गर्ने विशेष विधि अपनाइन्छ ।
महास्नानपछि मूर्तिलाई विशेष विधिअनुसार पुनः प्रतिष्ठा गरिन्छ, जसलाई आयु वृद्धि र रोग निवारणसँग जोडिएको विश्वास गरिन्छ ।
Categorized in सम्पदा/संस्कृति