काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरू विकल्पका रूपमा विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन ।
यसले गर्दा नेपालमा विद्युतीय चुलोको आयात उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्म कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो नेपाल भित्रिएका छन ।
आयातमध्ये सबैभन्दा बढी हिस्सा इन्डक्सन चुलोको रहेको छ ।
उक्त अवधिमा १ लाख ४ हजार ७ सय १७ थान इन्डक्सन चुलो आयात भएका छन्। त्यस्तै, इन्फ्रारेड चुलो पनि उपभोक्तामाझ लोकप्रिय बन्दै गएको देखिन्छ, जसको आयात संख्या ४२ हजार २ सय १८ थान पुगेको छ ।
अन्य प्रकारका विद्युतीय चुलो भने ९ सय २९ थान मात्र आयात भएका छन ।
आर्थिक हिसाबले हेर्दा, यी चुलो आयातमा ठूलो रकम बाहिरिएको छ। आठ महिनाको अवधिमा कुल ३० करोड ४१ लाख १२ हजार रुपैयाँ बराबरको विद्युतीय चुलो आयात भएको छ ।
यसमध्ये इन्डक्सन चुलोको मात्रै आयात मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ भने इन्फ्रारेड चुलोको ७ करोड ६७ लाख ७ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
यस्तै, विद्युतीय चुलो आयातबाट सरकारले ४ करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
एलपी ग्यासको आपूर्तिमा देखिएको अस्थिरताका कारण उपभोक्ताहरू वैकल्पिक ऊर्जा स्रोततर्फ उन्मुख हुँदै गएको यस तथ्यांकले स्पष्ट संकेत गरेको छ ।
फागुनमा ग्यास आयात उच्च भएपनि आपूर्ति संकट
उपभोक्ताले खाना पकाउने ग्यास अभावको गुनासो गरिरहेका बेला फागुन महिनामा भने पछिल्ला तीन महिनामध्ये सबैभन्दा धेरै एलपी ग्यास आयात भएको तथ्यांक सार्वजनिक भएको छ ।
भन्सार विभागका अनुसार फागुन महिनामा ५१ हजार १९२ टन ग्यास नेपाल भित्रिएको छ। यो परिमाण पुस र माघको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।
पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात भएको थियो ।
सामान्यतया जाडो याममा ग्यासको माग बढ्ने भए पनि पुस र माघ महिनामा विगतको तुलनामा आयात कम भएको देखिएको छ ।
खाडी क्षेत्रमा जारी तनाव र आपूर्ति शृंखलामा आएको अवरोधका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन ।
बढ्दो गुनासो र बजारमा देखिएको अभावलाई मध्यनजर गर्दै नेपाल आयल निगमले २८ फागुनदेखि आधा सिलिन्डर ग्यास वितरण गर्ने नीति लागू गरेको छ ।
तथ्यांकले भने समग्र आयातमा कमी नआएको संकेत गरेको छ। गत वर्षको फागुनको तुलनामा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १० हजार १८७ टनले बढी हो ।
Categorized in प्रबिधि