७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

समानुपातिक भन्दा प्रत्यक्षतर्फ बढि मत बदर


प्रकाशित: शनिवार, ३० फागुन २०८२, १३ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन– २०८२ मा बदर मत समानुपातिक भन्दा प्रत्यक्षतर्फ बढि देखिएको छ ।


त्यसैगरी अघिको निर्वाचन २०७९ भन्दा यो निर्वाचनमा बदर मत प्रतिशत बढेको देखिएको छ । 


निर्वाचनमा प्रयोग हुने दुई प्रणालीमध्ये समानुपातिकतर्फ भन्दा प्रत्यक्षतर्फ बढी मत बदर भएको तथ्यांकले देखाएको छ ।


निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १ करोड ८९ लाख ३ हजार ६ सय ८९ कुल मतदातामध्ये १ करोड ११ लाख ६८ हजार ३२ जना अर्थात ५९.०८ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ६ लाख ९ हजार १५ मत (५.४५ प्रतिशत) बदर भएको छ ।


त्यसैगरी समानुपातिकतर्फ १ करोड १३ लाख १२ हजार ४ सय ५५ मत अर्थात ५९.८४ प्रतिशत मतदान भएको थियो । तीमध्ये ४ लाख ६३ हजार ३ सय ७३ मत अर्थात ४.१० प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।


निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न २५ करोड रुपैयाँ खर्चको अख्तियारी पाएको थियो ।

 
आयोगले हरेक वडामा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । वडा तहमा स्वयंसेवक परिचालन गर्दा मात्र ७ करोड ४६ लाख रुपैयाँ खर्च भएको आयोगको विवरणमा उल्लेख छ ।


त्यसबाहेक मतदाता शिक्षाका लागि डिजिटल प्लेटफर्म, सार्वजनिक सञ्चारमाध्यम, पर्चा–पम्प्लेट वितरण तथा नमुना मतपत्र छपाइमा पनि ठूलो रकम खर्च गरिएको थियो । 


बदर मत घटाउन र मतदान प्रतिशत बढाउन मतदाता शिक्षाले योगदान गर्ने विश्वास गरिए पनि यसपटक विगतको तुलनामा बदर मत बढेको र मतदान प्रतिशत घटेको देखिएको छ ।


२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको थियो । 


त्यसबेला १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कुल मतदातामध्ये १ करोड १० लाख ४७ हजार ३४ जना अर्थात ६१.४१ प्रतिशतले मतदान गरेका थिए । त्यसमध्ये ५ लाख ५९ हजार ७६ मत बदर भएको थियो ।


त्यस्तै समानुपातिकतर्फ ५ लाख ६६ हजार १ सय ४४ अर्थात ५.०९ प्रतिशत मत बदर भएको थियो। उक्त निर्वाचनमा पनि मतदाता शिक्षाका लागि २५ करोड रुपैयाँ खर्च गरिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex