११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मध्यपूर्वमा युद्ध, नेपालमा पनि असर


प्रकाशित: आइतवार, १७ फागुन २०८२, १६ः१५ बजे
- महानगरखबर

काठमाडौं । अमेरिका र इजरायलको इरानमाथि संयुक्त हवाइ आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई सहित उच्च नेतृत्वको मृत्यु भएपछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ ।

 
घटनापछि इरानले आफूविरुद्धको आक्रमणको प्रतिकारस्वरूप खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै आक्रमण थालेको जनाएको छ ।


इरानको जवाफी कारबाहीपछि साउदी अरब, कतार र यूएई लगायतका देशहरूमा विस्फोट र ड्रोन आक्रमणका घटनाहरू सार्वजनिक भएका छन । 


यूएईको अबुधाबीस्थित इतिहाद टावर परिसरमा ड्रोन आक्रमण प्रयास विफल पारिएको त्यहाँको सुरक्षा संयन्त्रले जनाएको छ । 


हवाई रक्षा प्रणालीले ड्रोन खसाल्दा भवनअगाडि क्षति पुगेको छ भने एक महिला र एक बच्चा सामान्य घाइते भएका छन ।


यसैबीच, साउदी अरबको राजधानी रियाद को पूर्वी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन । धुवाँ उडेको देखिएको र स्थानीय बासिन्दाले ठूलो धक्का महसुस गरेको बताएका छन ।


हवाई सुरक्षालाई ध्यानमा राख्दै फ्रान्सेली झण्डावाहक कम्पनी एयर फ्रान्सले आइतबारका लागि बेरूत, दुबई र रियादतर्फका उडान स्थगित गरेको छ । 


यसअघि नै तेल अभिभतर्फको उडान रद्द गरिएको थियो। कम्पनीले आगामी दिनका तालिकाबारे पछि जानकारी दिने जनाएको छ ।


नेपालमा प्रत्यक्ष प्रभाव


मध्यपूर्वको तनावले नेपालमा पनि प्रत्यक्ष असर पारेको छ । खाडी मुलुकतर्फका उडानहरू रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा यात्रुहरूको चाप बढेको छ । रोजगारीका लागि खाडी जान तयार नेपाली श्रमिकहरू उडान रद्द भएपछि अन्योलमा परेका छन ।

 

मध्यपूर्वका विभिन्न मुलुकमा करिब १७ लाख २९ हजार २८८ नेपाली नागरिक कार्यरत


मध्यपूर्वका देशहरूमा पछिल्लो समय विकसित घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालय ले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

 
मन्त्रालयले पत्रकार सम्मेलनमार्फत प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको र विभिन्न कूटनीतिक तथा प्रशासनिक पहल सुरु गरिएको जानकारी दिएको छ ।


मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काका अनुसार सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले सतर्कता सन्देश जारी गरिसकेका छन । 


साथै, विभिन्न देशका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थाको निरन्तर निगरानी भइरहेको छ ।


हाल मध्यपूर्वका विभिन्न मुलुकमा करिब १७ लाख २९ हजार २८८ नेपाली नागरिक कार्यरत रहेका छन ।


तीमध्ये इरानमा १० जना नेपाली रहेकामा ४ जना नेपाल फर्किसकेका छन भने ६ जना अझै त्यहीँ छन । 


त्यस्तै, इजरायलमा करिब ६,५००, इजिप्टमा ५००, ओमनमा २५,०००, कतारमा ३,५७,९१३, कुवेतमा १,७५,०००, बहराइनमा २८,०००, साउदी अरबमा ३,८४,८६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १,५००, इराकमा ३०,००० र साइप्रसमा १७,००० नेपाली रहेका छन ।


संकट व्यवस्थापनका लागि मन्त्रालयले मध्यपूर्वस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई समेटेर ह्वाट्सएप समूह गठन गरेको छ, जसबाट प्रत्येक देशको सुरक्षा अवस्था, सरकारी निर्णय, सम्भावित जोखिम र नेपाली नागरिकका समस्याबारे अद्यावधिक जानकारी आदान–प्रदान भइरहेको छ ।


सम्भावित उद्धार तयारीस्वरूप कन्सुलर सेवा विभागलाई अनलाइन दर्ता प्लेटफर्म विकास गर्न निर्देशन दिइएको छ, जसबाट मध्यपूर्वमा रहेका नेपालीहरूले आफ्नो विवरण दर्ता गर्न सक्नेछन ।

 
साथै, मोबाइल एप पनि विकासको चरणमा रहेको र छिट्टै सार्वजनिक गरिने बताइएको छ। २४ सै घण्टा सञ्चालन हुने कन्सुलर रेस्पोन्स हटलाइन स्थापना गर्ने तयारी पनि भइरहेको छ ।


मुख्य सचिवको संयोजकत्वमा बसेको बहु–सरोकारवाला बैठकको निर्देशनअनुसार परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली गठन प्रक्रिया सुरु भएको छ । 


उक्त टोलीमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थाका प्रतिनिधिहरू रहनेछन ।


हाल चार प्रकारका नेपाली नागरिक समस्यामा परेका छन भिसा र टिकट भइसकेर पनि उडान रोकिएको अवस्था, गन्तव्य देशको विमानस्थलबाट बाहिर निस्कन कठिनाइ, विशेषगरी युरोप–अमेरिका जाने क्रममा ट्रान्जिटमा अलपत्र परेका यात्रु, तथा गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक । 


यी समस्याको समाधानका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार नयाँ लेबर पर्मिट जारी गर्ने, उडान अस्थायी रूपमा स्थगित गर्ने वा अध्ययनका लागि एनओसी जारी गर्ने विषयमा आन्तरिक छलफल जारी छ । आवश्यक परे केही समयका लागि नयाँ प्रस्थान रोकिन सक्ने संकेत पनि दिइएको छ ।


सरकारको प्राथमिकता त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नु नै रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

 


वैदेशिक रोजगारीमा निर्भर हजारौं नेपाली श्रमिक प्रभावित हुने देखिएको छ । यदि तनाव लम्बिएमा श्रम बजार, रेमिट्यान्स र हवाई सेवा क्षेत्रमासमेत गम्भीर असर पर्ने विश्लेषकहरूको अनुमान छ ।


मध्यपूर्वमा विकसित घटनाक्रमले विश्व समुदायको ध्यान तानेको छ भने स्थिति थप जटिल बन्ने संकेत देखिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex