काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । बंगलादेशबाट प्रकाशित अनलाइन सञ्चारमाध्यम द डेली स्टारका अनुसार अब तीन निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ ।
हालसम्म सार्वजनिक परिणामअनुसार बंगलादेश नेशन पार्टी (बिएनपी) ले दुई तिहाईभन्दा बढी सिट जितेको छ । बिएनपीले २१३ सिटमा जित सुनिश्चित गरिसकेको बताइएको छ ।
प्रतिनिधि सभाका ३०० सिटमध्ये २९९ सिटमा मतदान भएको थियो भने शेर्पुर–३ क्षेत्रमा एक उम्मेदवारको निधनपछि मतदान स्थगित गरिएको थियो ।
दुई तिहाई बहुमतका लागि कम्तिमा २०० सिट आवश्यक पर्नेमा बिएनपीले सहज रूपमा उक्त सीमा पार गरेको हो । यससँगै बिएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री चयन हुने निश्चित भएको जनाइएको छ ।
निर्वाचन आयोगले शुक्रबार साँझसम्म औपचारिक नतिजा घोषणा गर्ने जनाएको छ ।
यस निर्वाचनमा आवामी लिग लाई प्रतिस्पर्धामा प्रतिबन्ध लगाइएको थियो । पूर्वप्रधानमन्त्री शेख हसिना, २०२४ को जुलाईमा विद्यार्थी आन्दोलन चर्किएपछि पदबाट राजीनामा दिएर भारत निर्वासन गएकी थिइन ।
अवामी लिगको अनुपस्थितिले बिएनपीलाई स्पष्ट बहुमत हासिल गर्न सहज भएको विश्लेषकहरूको भनाइ छ ।
अवामी लिग अनुपस्थित रहेपछि जमात ए इश्लामले ११ दलसँग गठबन्धन गरी चुनाव लडेको थियो । उक्त गठबन्धनमा विद्यार्थी आन्दोलनबाट जन्मिएको नेशनल सिटिजन पार्टी (एनसिपी) पनि सहभागी थियो । तर गठबन्धनले जम्मा ७६ सिट मात्र जित्न सफल भएको बताइएको छ, जसमध्ये एनसिपीका ६ उम्मेदवार विजयी भएका छन ।
मतगणनाप्रति असन्तुष्टि जनाउँदै जमात–ए–इस्लामले निर्वाचन आयोगसँग पारदर्शिता सुनिश्चित गर्न माग गरेको छ । उसले आफ्ना समर्थकहरूलाई धैर्यता अपनाउन आग्रह पनि गरेको छ ।
उता एनसिपीले पनि मतगणनामा गडबडी भएको आरोप लगाएको छ ।
पार्टी प्रवक्ता आशिफ महमुदले पत्रकार सम्मेलन गर्दै केही क्षेत्रमा सञ्चारमाध्यमले सार्वजनिक गरेका तथ्यांक, मतदान केन्द्रको विवरण र निर्वाचन अधिकृतले घोषणा गरेका नतिजाबीच भिन्नता देखिएको दाबी गरे ।
एनसिपीले विवादित सिटहरूको पुनःसमीक्षा, आवश्यक परे पुनःप्रमाणीकरण तथा निष्पक्ष ढंगले अन्तिम नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ।
तस्वीरः BBC HINDI
Categorized in अन्तर्राष्ट्रिय