काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरमार्फत् कर्जा (मार्जिन) लिएर सेयर कारोबार गर्न सकिने ११० वटा कम्पनीको सूची सार्वजनिक गरेको छ ।
नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२’ स्वीकृत गरेसँगै नेप्सेले उक्त सूची सार्वजनिक गरेको हो। यो व्यवस्था आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।
निर्देशिका अनुसार मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हुनुपर्नेछ ।
त्यस्तै, प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आईपीओ सूचीकृत भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
अब लगानीकर्ताले यस्ता योग्य कम्पनीहरूको सेयर धितो राखेर मात्र ब्रोकरमार्फत् मार्जिन सुविधा लिन सक्नेछन्। मार्जिन कारोबार अन्तर्गत सेयर खरिद गर्नुअघि कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिनका रूपमा ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ। साथै, कारोबार अवधिभर न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ ।
यदि सेयरको मूल्य घटेर मार्जिन अनुपात तोकिएको सीमाभन्दा तल पुगेमा ब्रोकरले ‘मार्जिन कल’ गर्नेछ । तोकिएको समयभित्र थप रकम वा सेयर जम्मा नगरेमा ब्रोकरलाई धितो सेयर बिक्री गरी आफ्नो लगानी असुल गर्ने अधिकार हुनेछ ।
पारदर्शिता सुनिश्चित गर्न ब्रोकरहरूले दैनिक रूपमा बजार मूल्यका आधारमा ‘मार्क–टु–मार्केट’ प्रणाली अनुसार मार्जिन हिसाब गर्नुपर्नेछ । साथै, मार्जिन कारोबारका लागि छुट्टै खाता तथा डिम्याट खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।
दैनिक कारोबार विवरण भोलिपल्टै नेप्सेलाई बुझाउनुपर्ने र नेप्सेले उक्त विवरण सार्वजनिक गर्नेछ ।
मार्जिन सुविधा उपलब्ध गराउन चाहने ब्रोकरहरूको हकमा पनि निश्चित योग्यता तोकिएको छ । त्यस्ता ब्रोकरको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्नेछ र उनीहरू राफसाफ तथा निक्षेप सदस्यका रूपमा कार्यरत हुनुपर्नेछ। ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा दिन सक्नेछन ।
तर कुनै एक ग्राहक वा उसको परिवारलाई कुल सुविधाको १० प्रतिशतभन्दा बढी ऋण दिन पाइने छैन ।
यसका लागि ब्रोकरहरूले आफ्नै स्रोत वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन्। यद्यपि, यस्तो ऋण ब्रोकरको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नहुने सीमा निर्धारण गरिएको छ ।
नेप्सेले नयाँ व्यवस्थाले बजारमा तरलता बढ्ने, लगानीकर्तालाई थप अवसर उपलब्ध हुने तथा समग्र बजारको पारदर्शिता र अनुशासन सुदृढ हुने अपेक्षा गरेको छ ।
नेप्सले सार्वजनिक गरेका कम्पनीहरुका सुचीः



Categorized in बजार