काठमाडौं । सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका तीन वटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू जानकारी गराएका हुन् ।
उनका अनुसार मन्त्रिपरिषद्ले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्न आवश्यक आदेश स्वीकृत गरेको छ । यस निर्णयसँगै देशभर आर्थिक गतिविधिको विस्तृत तथ्यांक संकलन प्रक्रिया अघि बढ्ने भएको छ ।
त्यस्तै, सरकारले नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले जानकारी दिए ।
सरकारका अनुसार थप गरिएको समयभित्र आयोगले छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्नेछ ।
Categorized in राष्ट्रिय