काठमाडौँ । महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ र पूर्वाधार सुधारसम्बन्धी कार्यलाई तीव्रता दिइएको छ ।
महाशिवरात्रिका अवसरमा ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि आउने भएकाले उनीहरूलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिर परिसर र वरपरका क्षेत्रमा विशेष सरसफाइसहित विविध तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी आवश्यक काम अघि बढाइएको छ ।
फागुन ३ गते पर्न गएको महाशिवरात्रीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिनाथ क्षेत्रमा साधु–सन्तहरूको आगमन सुरु भइसकेको छ ।
Categorized in समाज