काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ ।
निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ ।
राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्ने उद्देश्यले कार्यविधि जारी गरिएको हो ।
आयोगबाट माघ २० गते स्वीकृत कार्यविधिअनुसार सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।
निवेदन प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकिएको सीमाभित्र रही अनुमतिपत्र जारी गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन ।
सवारीसाधन सञ्चालन नहुने क्षेत्रमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ ।
स्थानीय तह निर्वाचनतर्फ महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन भने नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष वा उपाध्यक्षका उम्मेदवारलाई एउटा हलुका सवारीसाधनको अनुमति दिइनेछ ।
वडाध्यक्ष तथा वडा सदस्यका उम्मेदवारले भने उम्मेदवार भएको वडाभित्र मात्र एउटा सवारीसाधन प्रयोग गर्न पाउनेछन ।
कार्यविधिअनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्म रहनेछ ।
मौन अवधिमा सवारीसाधन प्रयोग गर्न नपाइने जानकारी अनुमतिपत्र जारी गर्दा अनिवार्य रूपमा गराउनुपर्नेछ । अनुमति नलिई वा मौन अवधिमा सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई निर्वाचन समाप्त भएपछि मात्र फिर्ता गरिने व्यवस्था गरिएको छ ।
मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
यद्यपि, हवाई उडानमा भने यो व्यवस्था लागू हुने छैन। मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकाय, कूटनीतिक नियोग, सञ्चारमाध्यम, पर्यवेक्षक तथा आयोगले तोकेका अन्य व्यक्ति वा निकायलाई सवारीसाधन प्रयोगको अनुमति दिन सकिनेछ ।
काठमाडौँ जिल्लामा आयोग परिसरमा स्थापना गरिने एकीकृत सवारीसाधन आवागमन ‘डेस्क’मार्फत अनुमति प्रक्रिया सञ्चालन गरिनेछ भने अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयले मुख्य निर्वाचन अधिकृतको समन्वयमा अनुमति जारी गर्नेछ ।
कार्यविधिअनुसार विदेशी नम्बर प्लेट भएका सवारीसाधनलाई चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्न अनुमति दिइने छैन । तर एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, दूध ढुवानी, शववाहन, अस्पताल सेवा, दूरसञ्चार तथा विद्युत सेवाजस्ता अत्यावश्यक सवारीसाधन र ‘सिडी’ नम्बर प्लेटका कूटनीतिक सवारीसाधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ ।
Categorized in राष्ट्रिय