काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले बजेट अभावका कारण स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन सक्ने चेतावनी दिएकी छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा स्वास्थ्य बिमा बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले शून्य बजेटमा कार्यक्रम सञ्चालन असम्भव भएको बताइन ।
उनका अनुसार चालु आर्थिक वर्षमा सरकारले उपलब्ध गराएको ११ अर्ब रुपैयाँ गत वर्षको बक्यौता भुक्तानीमै खर्च भइसकेको छ ।
यसका कारण यस वर्षका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट नै नआएको मन्त्री शर्माले स्पष्ट पारिन ।
स्वास्थ्य बिमा अन्तर्गत सेवा प्रदान गर्ने अस्पताललाई करिब १४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।
“गत वर्षको बक्यौता तिर्न ११ अर्ब दिने भनियो, थप १० अर्ब दिने प्रतिबद्धता पनि आयो । तर ११ अर्बले मात्रै गत आर्थिक वर्षको बक्यौता तिरियो । यो वर्षका लागि बजेट नै छैन,” उनले भनिन, “तत्काल १४–१५ अर्ब रुपैयाँ सुनिश्चित नभए स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन्छ ।”
मन्त्री शर्माले अर्थ मन्त्रालयले आवश्यक रकम दिन नसक्ने अवस्थामा कार्यक्रम बन्द गर्न अनुमति दिनुपर्ने धारणा राखिन । छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वास्थ्य बिमालाई थप बजेट दिन नसक्ने स्पष्ट पारे ।
स्वास्थ्य मन्त्रालयले बजेट निर्माणका क्रममा स्वास्थ्य बिमालाई आवश्यक ध्यान नदिँदा अहिलेको संकट उत्पन्न भएको उनको भनाइ थियो ।
स्वास्थ्य बिमा बोर्डले वार्षिक करिब २३ अर्ब रुपैयाँ उपचार भुक्तानी गर्दै आएको छ । तर प्रति परिवार ३५ सय रुपैयाँ प्रिमियमबाट वार्षिक करिब पौने ४ अर्ब रुपैयाँ मात्रै संकलन हुने हुँदा बोर्ड गम्भीर आर्थिक संकटमा परेको छ ।
स्रोत अभावका कारण बोर्ड हरेक वर्ष सरकारको अनुदानमा निर्भर रहँदै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Categorized in स्वास्थ्य