काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डअन्तर्गत टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ ।
यसका लागि ५७ लाख ७२ हजार ६९४ रुपैयाँको सम्झौता भएको छ । यसको लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपैयाँ थियो । निर्माण कार्य आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो ।
निर्माण हुने कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ । हाल त्यहाँ पानी निकासका लागि राखिएका ह्युम पाइप पुराना भइसकेका छन । सार्वजनिक निर्माण विभागका सब–इञ्जिनियर दीपकबहादुर शाहीका अनुसार बर्खायाममा पानीको बहाव रोकिने समस्या देखिँदै आएको छ । सम्भावित डुवान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।
कल्भर्ट निर्माण सुरु भएपछि उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । डिल्लीबजार–पुतलीसडक चोक हुँदै बागबजार जाने तथा रामशाहपथबाट पुतलीसडक हुँदै बागबजार जाने सवारीका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर वैकल्पिक मार्गको व्यवस्था गरिनेछ । दुवैतर्फबाट आउने सवारी साधन कमलादी मोडबाट बायाँ मोडिँदै कमलादी गणेश मन्दिर हुँदै घण्टाघरतर्फ जान सक्नेछन् ।
काम सुरु भएपछि करिब दुई महिना सडक बन्द रहने महानगरपालिकाले जनाएको छ ।
यसैबीच, धोबीखोला नदी खण्डमा दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि अर्को बक्स कल्भर्ट निर्माण हुने भएको छ । यसका लागि २ करोड २१ लाख २३ हजार ८९९ रुपैयाँको सम्झौता गरिएको छ भने लागत अनुमान ३ करोड ७१ लाख २३ हजार ९३५ रुपैयाँ थियो ।
यो आयोजना २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ ७ मिटर हुनेछ ।
त्यहाँ रहेको फलामे पुल २०८० सालको धोबीखोलाको बाढीले जगसहित क्षति पुर्याएपछि नयाँ संरचना आवश्यक भएको थियो । वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारका अनुसार विभिन्न निकाय आए पनि पुल निर्माण नभएपछि महानगरपालिकाको केन्द्रीय बजेटबाट निर्माण प्रक्रिया अघि बढाइएको हो ।
Categorized in पालिका