१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

“नागरिकले घरमै बस्दा प्रहरीको सेवा पाउने वातावरण बनाउँदैछौं”


ललितपुर।ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले नागरिकले घरमै बस्दा प्रहरी सेवामा सहज पहुँच पाउने वातावरण बनाउन आफूहरू जुटिरहेको बताएका छन्।


जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एसएसपी बोगटीले कानूनी शासनको प्रत्याभूति दिलाउन प्रहरी कुनै कसर बाँकी नराख्ने बताए।

 
उनले प्रहरी र नागरिकबीचको सम्बन्धलाई “एक रथका दुई पाङ्ग्रा” का रूपमा व्याख्या गर्दै आपसी सहकार्यको आवश्यकता औंल्याए।



एसएसपी बोगटीले पछिल्लो समयमा युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत गलत सूचना फैलिँदा समाजमा नकारात्मक असर परेको बताएका छन्।


“भ्युज र सब्सक्राइब बढाउने लोभमा गलत सूचना प्रवाह गरिँदा समाज नकारात्मक दिशातर्फ धकेलिँदैछ, यसले आन्दोलन र अशान्तिको वातावरण सृजना गर्न सक्छ,” उनले चेतावनी दिए ।


साइबर अपराध र सचेतनाको आवश्यकता


बढ्दो साइबर अपराध प्रहरी र समाज दुबैका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले नागरिक सचेतनाले मात्र यसबाट बच्न सकिने बताए।


“साइबर अपराध नियन्त्रण प्रहरीको मात्रै होइन, हरेक नागरिकको जिम्मेवारी हो,” बोगटीले भने।


पत्रकार र प्रहरीबीच सहकार्यको आह्वान


उहाँले सूचना प्रवाहका कारण प्रहरी र पत्रकारबीचको सम्बन्ध अझ नजिक हुने बताउँदै अनुसन्धानमा प्रभाव नपार्ने सूचना लुकाउनु नपर्ने उल्लेख गरे।


“प्रहरीसँग धेरै समाचार हुन्छन्, तर पत्रकारले देश र शान्ति सुरक्षामा असर पर्ने रिपोर्टिङ गर्नु हुँदैन,” उनले आग्रह गरे।


एसएसपी बोगटीका अनुसार पछिल्ला वर्षहरूमा आत्महत्या, पारिवारिक कलह र सम्बन्ध विच्छेदका घटनाहरू सामाजिक सञ्जालकै दुरुपयोगका कारण बढेका छन्। उनले सामाजिक सद्भाव कायम राख्न पत्रकारितामार्फत सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे।


बोगटीले भनिरहेका थिए, “जेनजेड आन्दोलनपछि सर्वसाधारणमा केही त्रास बढेको छ, तर प्रहरी र जनताको सम्बन्ध अझ प्रगाढ बनेको छ। नागरिक र समाज रहेसम्म प्रहरी रहन्छ।”


उनका अनुसार ललितपुरमा लुटिएका २१ हतियारमध्ये १५ जलेका र दुई मात्र फिर्ता पाउन बाँकी छन्। उनले बाँडेगाउँ र इमाडोल प्रहरी प्रभाग पुनर्निर्माणको तयारी भइरहेको जानकारी पनि दिए।


जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी चक्रराज जोशीका अनुसार गत एक महिनामा १२१ वटा मुद्दा दर्ता भएका छन्, जसमा ८१ मुद्दा फर्छोट हुन बाँकी छन्।


उनले गत वर्षभन्दा २० प्रतिशत मुद्दा घटाउने लक्ष्य राखिएको बताउँदै, “कतिपय उजुरीमा दुबै पक्षलाई बोलाएर छलफलमार्फत समाधान खोजिरहेका छौं,” जानकारी दिए।


एसएसपी बोगटीले अन्त्यमा भने, “संस्कृति, सम्पदा र भाषाको दृष्टिले ललितपुरको पहिचान विश्वमै अद्वितीय छ। यही गरिमा र शान्ति–सुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय छ।”

asteriskhubs
Home Page Bottom Second


maharjan complex