काठमाडौं । वायोपिक नेवाः चलचित्र “इन्दिरा धिमे मैंचा” कात्तिक १५ गते विश्वज्योति र कीर्तिपुरमा प्रदर्शन हुने भएको छ ।
यो चलचित्र नेवाः समुदायकी इन्दिरा लाछिम्स्युंको जीवनमा आधारित बायोपिक हो ।
ख्वप (भक्तपुर) तचपालमा जन्मेकी इन्दिराले सन १९९४ (वि.सं. २०५१) तिर समाजमा महिलाले बाजा बजाउन नहुने भन्ने परम्पराको विरोध गर्दै धिमे बजाउन थालेकी थिइन । ११ वर्षकै उमेरमा सुरु भएको उनको संघर्ष अहिले पनि प्रेरणादायी छ ।
नौबाजा र धिमे बाजाको संरक्षण, प्रवद्र्धन र पहिचानको लागि उनी अग्रसर रहिन । “इन्दिरा धिमे मैंचा” बायोपिकले उनको जीवनको यही संघर्षलाई प्रस्तुत गरेको छ ।
टिजरको सुरुवातमा ३० वर्षअघिको परिवेश देखाइएको छ । नेवार समुदायमा महिलाले बाजा बजाउन नहुने परम्परा प्रचलित थियो ।
“छोरीहरूले नाच्ने मात्र, बाजा नबजाउने” भन्ने सोचले समाजमा गहिरो जर रोपेको थियो । तर इन्दिरा जस्ता युवतीहरूले त्यही परम्पराविरुद्ध आवाज उठाए ।
टिजरमा एक दृश्यमा देखिन्छ— जब उनी बाजा बजाउन लाग्छिन, समाजले विरोध गर्छ । तर अन्ततः उनको संघर्षले नयाँ बाटो खोल्छ ।
चलचित्रका निर्देशक सुरेन्द्र तुलाधर, संगीतकार निल शाक्य, संगीत संयोजन फिरोज बज्राचार्य, कोरियोग्राफर रोहिया महर्जन र छायांकन मुकेश हुमागाईं हुन ।
मुख्य भूमिकामा रोजीना सुवाल (इन्दिरा लाछिम्स्युंको रूपमा) र सिम्रिक श्रेष्ठ (युवा इन्दिरा) छन । इन्दिराको बुबाको भूमिकामा रामराजा भाम र बाजा गुरुका रूपमा देवचन्द्र बज्राचार्य देखिएका छन ।
अन्य कलाकारहरूमा रूपेन्द्र श्रेष्ठ, नगिना जोशी, लक्ष्मीकुमार महर्जन, मदनकृष्ण श्रेष्ठ आदि रहेका छन ।
निर्माण संस्था बिके फिल्म हो । मुख्य निर्माता गोपालकृष्ण महर्जन, सह–निर्मातामा सुरेन्द्र शाक्य, गोपालकाजी कायस्थ, र गोविन्द महर्जन छन ।
यो चलचित्र समाजमा महिलाको भूमिका, साहस र परिवर्तनको प्रतीकका रूपमा अर्थपूर्ण बन्न सक्छ ।
चलचित्र हेर्न विश्वज्योतीमा विहान ११ः३० बजेको शो र किर्तीपुर सिनेप्लेक्समा ११ बजेको समय तोकिएको छ ।
साथै कातिक २२ गते काठमाडौंको सिटिसी मलमा दिउँसो १ः३० बजे र बनेपाको बामेलमा पनि शो हुने भएको छ ।
Categorized in मनोरन्जन