काठमाडौं । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले आफूले काठमाडौं प्रहरीको संगठनको आन्तरिक सुदृढीकरणलाई प्राथमिक योजना बनाएको र त्यसलाई नै प्रभावकारी कार्यान्वयन गरी अपराध नियन्त्रणमा सक्षमता हासिल गर्ने कुरा बताएक छन ।
जनसेवा सामुदायिक केन्द्र, कामपा २० वडा कार्यालय र विश्वास नेपालको आयोजनामा आईतबार भएको एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएको हो ।
‘७५ हजारको प्रहरी संगठनभित्र सबै सच्चा छैनन्’, त्यस्ताको विरूद्ध प्रहरी संगठनलाई सूचना दिएमा कारवाही हुने कुरामा आश्वस्त पार्दै उनले एक दुई प्रहरीको नकारात्मक क्रियाकलाप हेरी प्रहरी भनेकै यस्तो हो भन्ने मानसिकता बनाएमा प्रहरी कहिल्यै नसुध्रने र त्यसले जनतालाई नै गलत असर पर्ने भएकाले त्यस्तो खालको मानसिकता बनाई चुप लागी नबस्न अनुरोध गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै कामपा २०, २३ र २५ का वडाध्यक्षहरू क्रमशः राजेन्द्र मानन्धर, मचाराजा महर्जन र निलकाजी शाक्यले प्रहरी र जनताको बीच सहकार्यबाट मात्र जनताका समस्याहरूको निदान हुनसक्ने कुरा औल्याए ।

कार्यक्रममा विश्वास नेपालका कार्यकारी निर्देशक बालकुमारी आलेले होटल, रेस्टुराँमा काम गर्ने श्रमिकहरूको हकहितको लागि काम गर्ने श्रमिकहरूका लागि प्रहरीको सहयोगको आवश्यकता रहनुका साथै समुदायले पनि सकारात्मक धारणा बनाउनुपर्ने भएकाले त्यसतर्फ आफ्नो संस्था क्रियाशील रहेको बताए ।
जनसेवा सामुदायिक केन्द्रका अध्यक्ष विकासभक्त श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा केन्द्रका उपाध्यक्ष पवित्र वज्राचार्यले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक टेकु नन्द इवा लिम्बूका साथ कामपा १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन र १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
Categorized in समाज