४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

‘वितिसकेकी आमालाई भेट्न चन्द्रमा पुग्न सगरमाथा चढें’


प्रकाशित: २०७५ भाद्र १६ शनिबार
- करुण राज

सगरमाथा आरोही महिला पत्रकार रोजिता बुद्धाचार्यलाई नेवाः पत्रकारले सम्मान गरेको छ । नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाको साधारण सभामा आज बुद्धाचार्यलाई सम्मान गरेको हो ।
 

काठमाडौंमा आज सम्पन्न दबूको चौथो साधारण सभामा सगरमाथाको सफल आरोहण गरेकी महिला पत्रकार बुद्धाचार्यलाई जिल्ला अध्यक्ष नातिकाजी महर्जनले दोसल्ला ओढाई सम्मान गर्नुभयो । त्यसैगरी प्रेस काउन्सील नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभयो ।
 

सम्मान ग्रहण गरिसकेपछि बोल्दै रोजिताले आफु सानैमा वितेकी आफ्नी आमाको मुख एकपटक हेर्ने ईच्छाले आफु सगरमाथाको चुचुरोमा पुगेको उनले बताइन् । आमा कहाँ छिन् भनेर सोध्दा सबैले चन्द्रमामा छिन् भन्ने गर्दा आफुलाई सानैमा सगरमाथाको चुचुरोमा पुगेर फुट्ट उफ्रेर चन्द्रमामा जाने र त्यहाँ आमालाई भेट्ने इच्छा जागेको उनले बताइन् ।
 

‘मैले मेरो आमाका अनुहार पनि हेर्न पाइन । म ३ वर्ष नपुग्दै आमा वित्नुभयो । आमाको काखमा सुत्न चाहन्थें, आमासँग खेल्न चाहन्थें । अनि परिवारमा सबैलाई आमा कहाँ छिन् भनेर सोध्दै बस्थें र जसले पनि आमा चन्द्रमामा छिने भन्थे । त्यहि बेला मैले सोचें, म सगरमाथा चढ्नेछु, अनि त्यहाँबाट फुट्ट उफ्रेर चन्द्रमामा गई आमालाई भेट्छु । सानोबेलाको त्यहि सोचले मलाई सगरमाथाको चुचुरोमा पुर्यायो’ रोजिताले भावुक हुँदै आँखाको आँसु पुछ्दै भनिन् ।
 

कार्यक्रममा प्रेस काउन्सील नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठले स्वच्छ पत्रकारिताको कलमलाई कसैले रोक्न नसक्ने बताउनुभयो । वर्तमान आचार संहिताले पत्रकारिताको नाममा धन्दा चलाउनेहरुलाई मात्र रोक्ने अध्यक्ष श्रेष्ठको भनाई थियो । 
 

गोरखापत्र राष्ट्रिय दैनिकका नि.प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले समस्त नेवाः पत्रकारहरु संगठित भई क्षेत्रको वृहत्तर विकासमा लाग्नुपर्ने बताउनुभयो । 
 

जिल्ला उपाध्यक्ष बिराजकाजी राजोपाध्यायले पहिलो नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा पत्रिकाका प्रकाशक सम्पादक फत्तेबहादुर सिंहको नामबाट आगामी वर्षबाट सिंह पत्रकारिता पुरस्कारको शुरुवात गरिने जानकारि दिनुभयो ।
 

दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जन, जिल्ला अध्यक्ष नातिकाजी महर्जनलेसमस्त नेवाः पत्रकारलाई दबूभित्र गोलवद्ध भई एक आपसमा हातेमालो गर्दै पत्रकारिता क्षेत्रको विकासको साथै पत्रकारको सीप, क्षमता अभिवृद्धिको लागी संगठित हुन आव्हान गर्नुभयो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex