काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छिन ।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन सफल बनाउन सबै दलको सक्रिय सहभागिता आवश्यक रहेको बताइन ।
छलफलको सुरुआतमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणालाई स्वीकार गरी बालुवाटार आएकोमा तीनै नेताप्रति धन्यवाद व्यक्त गरिन ।
‘यो घर तपाईंहरूकै हो । म त न्याय क्षेत्रको मान्छे हुँ । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी निर्वाचनको तयारीमा जुटिरहेका छौँ,’ प्रधानमन्त्रीले भनिन ।
उनले प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुन रक्षाबाहेक आफूअन्तर्गत रहेका सबै मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई दिएको जानकारी पनि गराइन ।
‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने, यो निर्वाचन जसरी पनि सफल पारौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबै दल यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने वातावरण बनिरहेको देख्छु, जुन स्वागतयोग्य छ ।’
प्रधानमन्त्रीले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकेको जानकारी दिँदै सुरक्षाकर्मीहरूको मनोबल उच्च रहेको पनि उल्लेख गरिन । ‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा यहाँहरूले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी नै काम गरिरहेका छौँ,’ प्रधानमन्त्रीको सचिवालयले उद्धृत गरेको छ ।
छलफलको अन्त्यमा प्रधानमन्त्री कार्कीले कुनै अन्योल नगरी राष्ट्रको भविष्यलाई ध्यानमा राख्दै स्थिर र दिगो लोकतन्त्रका लागि निर्वाचन सफल पार्न सबै दलको सहकार्य आवश्यक रहेकोमा जोड दिइन ।
‘यो हामी सबैको साझा जिम्मेवारी हो,’ उनले नेताहरूसँग आग्रह गरिन ।
Categorized in राष्ट्रिय