काठमाडौं । ‘मिस नेपाल २०२५’ को ग्रान्ड फिनाले भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने भएको छ ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले मंगलबार पुल्चोकको ‘द प्लाजा’मा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता कार्यक्रम सार्वजनिक गरेको हो । फिनाले समारोह हिमालय टिभीले प्रत्यक्ष प्रसारण गर्नेछ ।
यो संस्करणमा मुख्य चार ताज— मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो—का साथै १४ वटा सहविधामा प्रतिस्पर्धा हुनेछ ।
लोकप्रिय भोटका आधारमा पपुलर च्वाइस, सिरियल अवार्डमा ब्युटीफुल हेयर, इन्टलेक्चुअल, मिस सिल्क, मिस कन्फिडेन्ट, फोटोजेनिक, फेस अफ द इयर, वुमन विथ विंग्स, ब्युटी विथ अ पर्पस, डिलाइटफुल ह्याप्पीनेस इन्टिलिजेन्ट, ई–मबिलिटी, टाइमलेस ब्युटी, इम्पावर्ड च्वाइस र ब्युटीफुल स्किन उपाधि प्रदान गरिनेछ ।
यसपटक नेपालले पहिलो पटक ‘कोस्मो इन्टरनेसनल’मा सहभागिता जनाउन लागेको छ । सन् २०२४ की मिस कोस्मोको उपस्थितिले फिनाले थप आकर्षक हुने अपेक्षा गरिएको छ ।
आवेदन, अडिसन र प्रशिक्षण
आवेदन फारम असार २६ गतेसम्म भर्न सकिने ।
न्यूनतम उचाइ ५ फिट ३ इन्च, उमेर १८ देखि २७ बीच र नेपाली नागरिकता आवश्यक ।
अडिसन तालिका
मिति स्थान
असार १६ विर्तामोड
असार २० नेपालगञ्ज
असार २४ जनकपुर
असार २८ काठमाडौं
अडिसनबाट छानिएका प्रतियोगीले फिनालेअघि केन्द्रित प्रशिक्षण प्राप्त गर्नेछन् । साथै काठमाडौंका १० कलेजमा ‘मिस नेपाल एक्टिभेसन क्याम्पेन’ सञ्चालन गरिनेछ ।
द हिडन ट्रेजरले यसै अवसरमा आफ्नो ३० औं स्थापना वर्ष पनि भव्य रूपमा मनाउने जनाएको छ ।
Categorized in सौन्दर्य