काठमाडौँ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले यही मंसिर १७ देखि २३ गते सम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ हुने भएको छ ।
महोत्सव काठमाडौंदेखि लुम्बिनीसम्म गरिने भएको आयोजकले बताएको छ ।
सो महोत्सवमा १० मुलुकका ३५ कलाकारको सहभागिता रहनेछ । महोत्सवको पहिलो दिन नेपाल कला परिषद्मा उद्घाटन गरी औपचारिकता दिइनेछ भने १८ देखि २३ गतेसम्म लुम्बिनीमा कार्यशाला गरिनेछ ।
समाजका अध्यक्ष एनबी गुरुङले पछिल्लो समय विकास भएका विभिन्न प्रविधि तथा कला कौशलको यस क्षेत्रमा भइरहेको प्रयोगलाई अन्तर्राष्ट्रिय तहका कलाकारबाट अनुभव आदान प्रदान गर्न महोत्सवले सहयोग गर्ने जानकारी दिए ।
महोत्सवमा सहभागी हुने मुलुकका सम्बन्धित कलाकारले आ–आफ्नो देशमा नेपालका पर्यटकीयस्थल, सौन्दर्यस्थल, मनोरम दृश्यबारे जानकारी गराउन काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव गर्न लागिएको हो ।
नेपाल सांस्कृति संस्थान, नेपाल पर्यटन बोर्डलगायत संस्थाको समन्वयमा हुने उक्त महोत्सव करीब रु २५ लाखको लागतमा सम्पन्न गरिने आयोजकले जनाएको छ ।
Categorized in सम्पदा/संस्कृति