काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जस लिन सबै आउने, अपजसहरु चाँही मलाई थोपारने गरेको बताएका छन ।
बुधवार काठमाडौं महानगरपालिका वडा नं. १२ को भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भने,‘ कुनै काम अवरोध गर्न सजिलो छ, बाधा गर्न सजिलो छ तर जस लिन सबै आउँछन, हिजो दरवारहाईस्कुल बनाउँदा अवरोध आएको थियो, त्यो हिजो दुई तला थियो अहिले हामीले चार तला बनाऔं, अहिले कसैको विरोध गरेका छैन, रानीपोखरी गुम्बा शैलीको थियो अहिले मेरो नेतृत्वमा शिखर शैलीमा बन्यो, बनिसकेपछि जस लिन आउनेहरु दौडादौड छ ।’
उनले भने,‘ यदि अहिले महानगरपालिकाको केन्द्रिय कार्यलय बनेको भए, जसलिन सबै दौडन्थे, अहिले अपजस आउने भएपछि मेयरलाई एक्लै राखेर सम्पदा मास्न खोज्यो, दरवार मास्न खोज्यो भनेका छन ।’
टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा प्रमुख शाक्यले सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गरेका छन ।

‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो । विवाद समाधानको समय कुर्दा समय लाग्यो । नत्र अहिलेसम्ममा वडा भवन निर्माण भएर प्रयोगमा आइसक्ने थियो ।’ शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने, ‘हामी विवादमा पर्न चाहेनौँ । त्यसैले पुरानै वडा भएको ठाउँमा नयाँ भवन बनाउने निर्णयमा पुग्यौँ ।’
सो अवसरमा भवन निर्माणका विषयमा कुरा गर्दै वडाध्यक्ष विकास डंगोलले भ्याटसहित वडाको लागत ४ करोड २५ लाख ३२ हजार ४४८ लागत अनुमान गरिएको बताए ।

निर्माण कार्य खरिद प्रक्रियामा भ्याटसहित ३ करोड २० लाख ५१ ह्जार ६७० रुपैयाँ कवोल गर्ने निर्माण पक्षले यसको जिम्मेवारी पाएको डंगोलले जानकारी दिए ।
भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवन जमिनतलासहित ६ तले हुनेछ । ०—४—१—२ मा निर्माण हुने भवनको भूमिगत तलामा पार्किङ् हुनेछ ।
अपाङ्गमैत्री भवनमा ६ जना अट्ने लिफ्ट पनि जडान हुनेछ । पाँचौँ तलामा ६० जना अट्ने सभा कक्ष हुनेछ । भवनको निर्माण अवधि १५ महिना अर्थात ०७९ असार १५ गतेसम्म राखिएको छ ।
Categorized in स्थानिय