काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंलाई मानव वस्ती अनुकुल सहर बनानउन प्राथपिमकता दिएको बताएका छन ।
शाक्यले सोवमार कामपा वडा ४ स्थित शिवप्रिया मार्गमा धुम्रवराही पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हुन ।
सो अवसरमा उनले भने ‘सार्वजनिक जग्गामा सामुदायिक भवन बनाउने यस अघिको प्रचलनलाई छोडेर हामीले त्यस्ता खुल्ला ठाउँमा पार्क बनाउन थालेका छौँ । काठमाडौँलार्ई मानव बस्ती अनुकुृल सहर बनाउन हामीले पार्क र हरियालीलाई प्राथमिकता दिएका हौँ ।’
‘काठमाडौँ हामीले बनाएको सहर होइन, पूर्खाले बनाएको सहर हामी व्यवस्थापन गरिरहेका छौँ । यसकारण आधुनिक सहरका लागि अहिलेको आवश्यकताअनुकुल बनाउन कठिन छ । यो चुनौती हो । तर यसको मौलिकता, संस्कार र संस्कृति सहरको सम्भावना हो ।’ शाक्यले भने ।
विविधतायुक्त विशेषताको भएको राजधानी सहरमा हामीले स्थानीयलाई मात्र सेवा दिएर पुग्दैन । सहरमा आउने सबैको व्यवस्थापन आफूहरुकै जिम्मेवारी भएकोले पनि अन्य सहरभन्दा हाम्रा चुनौती धेरै रहेको प्रमुख शाक्यको भनाई थियो ।
वडा अध्यक्ष मोहन बहादुर विष्टका अनुसार वडाको भौगोलिक क्षेत्रभित्रबाट करीव ७२ रोपनी पर्ती र सार्वजनिक जग्गा संरक्षण गरिएको छ जसमा १४ वटा पार्क निर्माण हुनेछ ।
अहिले २ वटा ठूला पार्क निर्माण प्रक्रियाका पुगेका, केही सम्पन्न भएका र केही निर्माणाधीन अवस्थामा रहेका वडा अध्यक्ष विष्टले बताए ।
यो क्षेत्रमा करीव १२ रोपनी सार्वजनिक जग्गा छ । यसलाई ४ वटा ब्लकमा विभाजन गरेर पार्क निर्माण भइरहेको छ । पहिलो ब्लक प्रदेश सरकारको बजेटमा निर्माण गरिसकिएको छ । दोस्रो र तेस्रो ब्लकमा निर्माण थालिएको छ भने चौथो ब्लक महानगर र प्रतिनिधि सभा सदस्यको बजेटमा निर्माणको अन्तिम चरणमा पुगेको छ । यसमध्ये आज शिलान्यास भएको ठाउँमा करीव ७ रोपनी क्षेत्रफल भएको जमिन छ ।
करबाहेक करीब ८९ लाख रुपैयाँ लागत अनुमान रहेको पार्क निर्माण गर्न शारदा कन्स्ट्रसनले ५८ लाख २९ हजार ५७६ रुपैयाँमा कबोल गरेको छ । यसको निर्माण कार्य आउँदो असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
समारोहमा प्रदेश सभा सदस्य नारायण सिलवालले, धुम्रवराही पार्कलाई बहुबर्षिय योजनाका रुपमा राखेर महानगरले बजेट विनियोजन गर्नु पर्ने जोड दिएका थिए ।
Categorized in स्थानिय