काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न नपर्न दिने वताएका छन ।
सोमवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख शाक्यले भने, ‘सडकमा कसैले पनि मागि खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको हो ।’ ‘हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौँ । यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ । यो सबैको दायित्व पनि हो ।’ शाक्यले भने ।
शाक्यले खुलामञ्चमा निशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन ।
‘मेरो जानकारी अनुसार करीब आधा दर्जन संस्थाले त्यहाँ निशुल्क खाना खुवाइरहेका छन,’ प्रमुख शाक्यले भने, ‘सबैले एकै ठाउँमा खाना खुवाउन आवश्यक छैन । हामीले निशुल्क भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उहाँहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन । खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यन्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल गरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’
उनले खाना खुवाउनकै लागि विभिन्न विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनु पर्ने र चन्दा माग्नु पर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराए ।
अहिले पनि श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग प्रमुख शाक्यले आग्रह गरेका छन । शाक्यले भने, ‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ,’ उहाँले भन्नुभयो, ‘हामी सबैसँग सहकार्य गरी अघि बढ्दै मागी खानु पर्ने वाध्यतामा रहेका महानगरवासीलाई व्यवस्थापन गर्न तयार छ ।’
शाक्यले केही माननीयहरुले खुलामञ्चमा पुगेर गरेको आर्थिक सहयोगप्रति संकेत गर्दै भन्नुभयो– ‘गर्न नसक्नेलाई हामी हेर्छौ । त्यो राज्यको दायित्व भित्रै पर्छ । तर, गरिखान सक्नेलाई पनि खुलामञ्चमा पुगेर केही आर्थिक सहयोग गरी महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान हुदैन । सबै मिलौँ समस्या समाधानको उपायको खोजी गरौँ ।’
प्रमुख शाक्यले पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको र त्यसमा पनि काठमाडौँ महानगरपालिकामा अझ संक्रमण दर बढीरहेको भन्दै स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा व्यवस्थापन गर्नुको अर्को विकल्प नरहेको प्रष्ट पारे ।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले कोभिडका बेला उपत्यकाका १८ वटै नगरपालिकाकाले एक्लाएक्लै होइन समन्वयमा अघि बढ्नुपर्छ भनेर पटक–पटक योजना बनाई अघि बढेको पनि स्मरण गराए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगरपालिका भित्र कुनै पनि संघ–संस्थाले समन्वय नगरी खुला स्थानमा निशुल्क खाना खुवाउने लगायतका गतिविधि गर्न नपाउने व्यवस्था गरेको भन्दै त्यहाँ समस्या नरहेको बताउए । उहाँले कोभिडका बेला आफ्नो नगरपालिकाले गरेका गतिविधि बारे जानकारी दिएका थिए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले अहिलेसम्म स्थानीय तहले गरेका काम सकारात्मक भए पनि थप समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताए ।
त्यसैगरी सांसद भिमसेन दास प्रधानले समन्वयको अभावमा समस्या हुने गरेको भन्दै समन्वय गरेर अघि बढ्न आग्रह गरे । उनले खुलामञ्चमा निशुल्क खाना खुवाउनेहरुलाई व्यवस्थापन गर्ने नाममा त्यत्तिकै छाड्न नमिल्ने भन्दै समन्वय गरेर स्थान तोकेरै खाना खुवाउने व्यवस्थ ागर्न आग्रह गरे ।
त्यसैगरी सांसदहरु विन्दा पाण्डे, अभिषेक प्रताप शाह, देवेन्द्र पौडेल, माया ज्ञवाली, सोमप्रसाद पाण्डे, एलपी साँवा लिम्बू, प्रकास रसाइली, श्रम मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दहाललगायतले पनि कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरुको व्यवस्थापनका लागि मन्त्रालय र स्थानीय तहहरुले गरेका व्यवस्था, गर्नुपर्ने प्रयासलगायतका बारेमा मेयरहरुलाई सुझाव दिनुभएको थियो ।
Categorized in समाज