काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले अझै पनि सांस्कृति संरचनाहरु टेकाका भरमा अडिएको बताएका छन ।
आईतवार काठमाडौंको भूगोलपार्कमा २४ औं भूकम्प सुरक्षाका दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख शाक्यले काठमाडौंमा टेकाका भरमा रहेका सांस्कृति संरचनाहरु महानगरको जिम्मा नआएकोले पुननिर्माण गर्न नसकेको बताए ।

प्रमुख शाक्यले भने,‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ ।’
सम्भावित विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको सो अवसरमा बताए ।
१९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा हरेक बर्ष भूगोल पार्कमा स्मृति सभा आयोजना मानाईने गरिन्छ ।
स्मृति सभामा गृहमन्त्री बालकृष्ण खाँडले सो अवसरमा भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोविड १९ को संक्रमणबाट बच्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।
महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको गरे ।
स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार, आगलागी नियन्त्रणका लागि उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ ।
यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन । यस बर्षको मुल समारोह स्वास्थ्य मापदण्ड अपनाएर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने तालिका छ ।
भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री खाँडलाई प्रमुख शाक्यले भूगोलपार्क नजिकै रहेकेो जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गराएका थिए ।
Categorized in सम्पदा/संस्कृति