१५ बैशाख २०८१, शनिबार
Header

‘कर नतिरी गरिने फुटपाथ व्यवसायलाई राज्यले नै प्रोत्साहित गर्दैछ’


प्रकाशित: मंगलवार, ३० भाद्र २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । विशेष गरी नेपालमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंको असन ईच्द्रचोक लगायतका भित्रि वस्तीहरुमा फुटपाथ पसल हटाउनमा सक्रिय हुन थालेको जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ ।


पैदल यात्रु साथै अत्यावश्यक सवारी आवागमनमा समेत समस्या पुर्याइरहेको र हाल आएर यहि फुटपाथ पसलका कारण भीडभाड हुन गइए संक्रमणको जोखिम समेत बढाएको फुटपाथ पसल हटाउन भूमिका खेल्नुपर्ने जिल्ला प्रशासन कार्यालयले नै यसलाई प्रश्रय दिएको भनी आदेश सच्याउन समाजले माग गरेको हो ।


समाजको स्थापनाको साथै अभियानको समेत सय दिन पुगेको अवसरमा काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी समाजले स्थानीय वासिन्दाको स्वास्थ्य सुरक्षाको लागि आफुहरु संक्रमणको जोखिम मोलेर लागिरहँदा जिल्ला प्रशासन कार्यालयले किन फुटपाथ पसललाई प्रश्रय दिइरहेको छ भनी प्रश्न तेर्सायो ।


‘यो सडक हाम्रो होइन, फुटपाथ पसलको हो शुरुमा । उनीहरुको पसल राखेपछि मात्र हाम्रो लागि हो, एम्बुलेन्सको लागि हो, दमकलको लागि हो । फुटपाथ व्यापारीको त्यस्तो व्यवहार हामीले सहनुपर्छ,’ समाजका अध्यक्ष चन्द्रकुमार महर्जनले भने । ‘म जिल्ला प्रशासन कार्यालयलाई प्रश्न गर्न चाहन्छु कि यो सडक वटुवाको लागि, सवारी आवागमनको लागि हो कि फुटपाथ पसल थाप्नलाई ?’


समाजका सल्लाहकार साथै काठमाडौं महानगरपालिका २४ वडाका वडा सदस्य विनोद तुलाधरले विशेष गरी काठमाडौंका भित्री वस्तीका लागि फुटपाथ पसल ठुलै समस्या हुने गरेको बताए । साँघुरोको सडकको दायाँ बायाँ पुरै ओगटेर राखिने फुटपाथ पसलले दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यकीय सवारी साधन समेत समयमा गन्तव्य पुग्न नसकिने समस्या रहेको उनले बताए ।


‘विगतमा पनि धेरै पटक यी फुटपाथ पसल हटाउन प्रयत्न गरें, तर यो समस्याले ठुलै जरा गाडिसकेको छ । यो समस्या हटाउन निकै गार्हो भइसकेको अवस्था छ,’ तुलाधरले भने । ‘अहिले समाजको प्रयत्नले फुटपाथ पसल हट्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसलाई वैधता दिन खोजिएको देखियो ।’


गत भाद्र २४ गते काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शर्तसहित व्यापार व्यवसाय गर्न पाउने आदेश जारी गर्दै बिहानको ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म फुटपाथ पसल र ठेला व्यापार खोल्न सकिने भनेको थियो ।


यो सूचनापछि असन ईन्द्रचोक लगायतका क्षेत्रहरुमा दिनभर नै फुटपाथ पसलहरु राख्न शुरु भएको छ भने यसैको कारणले सडकमा भीडभाड बढेर ट्राफिक जामको समेत समस्या बढेको छ ।


कार्यक्रममा समाजका सचिव संजय महर्जनले फुटपाथ व्यापारीहरुबाट आफु र समाजका स्वयमसेवकहरुलाई सांघातिक आक्रमण समेत भएको क्षण स्मरण गर्दै भने, ‘गरीव भन्छन्, तर सार्वजनिक ठाउँ ओगटेर फुटपाथ पसल राखेर त्यो एक टुक्रा ठाउँको लाखौंमा किनवेच हुन्छ । हामीलाई हिँड्नलाई समस्या भयो, फुटपाथमा पसल नथाप भन्दा हामीलाई हतियार लिएर आक्रमण गरीन्छ । हामी, हाम्रो समाजलाई यसले के दिन्छ, सोचौं ।’


त्यस्तै समाजका प्रेस सल्लाहकार बिराजकाजी राजोपाध्यायले जिल्ला प्रशासन कार्यालय जस्तो जिम्मेवार निकायले फुटपाथ पसललाई प्रश्रय दिने हो भने भाडा तिरेर, कर तिरेर किन कसैले व्यापार व्यवसाय गरीरहनुपर्यो भनेर प्रश्न तेर्साए । 


‘फुटपाथ व्यापारीहरुले न भाडा तिर्छन् र कमाएको नाफाबाट राज्यलाई कर नै तिर्छन् । अब घर भाडा कर, व्यवसाय कर सबै छलाएर गरिने व्यापारलाई जिल्ला प्रशासन कार्यालय जस्तो जिम्मेवार निकायले बढावा दिने भए हामी पनि फुटपाथ व्यापार नै शुरु गरौं । राज्यलाई किन कर तिरिरहनुपर्यो त ?’ राजोपाध्यायले भने ।


कार्यक्रमका वक्ताहरुले सवारी आवागमनको लागि सडक साँघुरो भन्दै जिल्ला प्रशासन कार्यालयको सो आदेशपछि काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको साथै कामपा वडा १७ का वडाध्यक्ष नवीन मानन्धर, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यको साथमा समाजका पदाधिकारीहरु समेत जिप्रका कार्यालय बबरमहल गई प्रजिअ जनकराज दाहालको ध्यानाकर्षण गराएका थिए ।


काठमाडौं महानगरपालिकाले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाभित्र फुटपाथ पसल पूर्ण रुपले निषेध गर्ने नीति लिएको छ ।


सो अवसरमा समाजले अब फुटपाथ पसल हटाउ अभियानसँगै सम्पदा संरक्षणका कार्यक्रमहरु समेत आयोजना गर्दै जाने र यहाँको ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्दै आन्तरीक र वाह्य पर्यटकलाई आकर्षिक गर्ने कार्यक्रमहरु गर्ने घोषणा समेत गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD