काठमाडौं । काठमाडौं जिल्ला अदालतले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी प्रकरणमा राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका हुन ।
शुक्रवार भएको थुनछेक बहषपछि न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको किनारा नलागेसम्म राहुललाई थुनामा पठाउन आदेश दिएको हो ।
अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार राहुलसहित अन्यलाई मुद्धा दायर गरेको थियो ।
राहुुलसहित चिनियाँ सुन तस्कर दावाजिन वाङका सहयोगी लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र हाल फरार रहेका निमा गुरुङविरुद्ध ९ केजी ११.५२४ ग्राम सुनबापत हुन आउने ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँलाई बिगो कायम गरी मुलुकी अपराध संहिता–२०७४, संगठित अपराध निवारण ऐन २०७० र भन्सार ऐन २०६४ ले बर्जित गरेको अपराध अभियोगमा मुद्दा दायर गरेको थियो ।
Categorized in राष्ट्रिय