काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा चार वटा बैंक तथा वित्तीय संस्थामाथि कारवाही गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, र पोखरा फाइनान्स कारवाहीमा परेका संस्थाहरू हुन ।
सिटिजन्स बैंक इन्टरनेशनलको गलत प्रबन्धन
राष्ट्र बैंकले सिटिजन्स बैंकलाई कार्यकारी प्रमुखको सुविधा वृद्धि तथा करार सम्झौतामा निर्देशना विपरीत संशोधन गरेको भन्दै सचेत गराएको हो ।
साथै, फास्ट ट्रयाक कर्जा अन्तर्गत आन्तरिक लेखापरीक्षणको निर्देशन पालना नगरेको, ब्याजदरको गलत गणना, नयाँ कर्जाबाट पुरानो कर्जा तिर्ने जस्ता गतिविधिहरू गरेको भन्दै पनि बैंकलाई सचेत गरिएको छ ।
कर्जा नोक्सानीको व्यवस्थापन, चालु पुँजी सम्बन्धी मार्गदर्शनको उल्लंघन र गलत रिपोर्टिङसमेत बैंकको कमजोरीका रूपमा उल्लेख गरिएको छ ।
एनआईसी एशिया बैंकको बढी ब्याज असुल
एनआईसी एशिया बैंकले ऋणीसँग स्पष्टता नबिना सम्झौता गरेको, कर्जाको प्रकृति र ब्याजदरजस्ता महत्वपूर्ण विवरण स्पष्ट नपारेको, र ब्याजदरमा परिवर्तन हुँदा ऋणीलाई जानकारी नदिएको पाइएको छ । यी कारण राष्ट्र बैंकले यस बैंकलाई सचेत गराएको हो ।
पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना
राष्ट्र बैंकले पोखरा फाइनान्सलाई अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै ३२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ ।
यो रकम २०८१ माघ २७ देखि चैत २३ सम्मको अवधिको न्यूनतम मौज्दात पूरा नगरेको कारण तिराइएको हो ।
गुहेश्वरी मर्चेन्टमा विनियम उल्लंघन
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले कर्मचारी उपदानसम्बन्धी विनियमावली राष्ट्र बैंकबाट स्वीकृति नलिई कार्यान्वयनमा ल्याएको, रिक्त सञ्चालक पदमा वार्षिक साधारण सभा अगाडि नियुक्ति नगरेको, र सञ्चालक समितिबाट पछि मात्र नियुक्ति गरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
Categorized in बैंक