७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

२ सिट नपुुग्दा रास्वपाले पाउन सकेन दुुई तिहाई, अरु दलहरुले कति सिट ल्याए ?


प्रकाशित: बुधवार, २७ फागुन २०८२, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना लगभग सम्पन्न भएसँगै नेपालको संघीय संसद्को आगामी शक्ति समीकरण स्पष्ट भएको छ । 


प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्को सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ ।


प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ प्राप्त मतको आधारमा करिब ५७ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । 


यससँगै प्रतिनिधिसभामा रास्वपाको कुल सिट संख्या १८२ पुग्ने देखिएको छ । 


२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले मात्र दुई तिहाइ बहुमतबाट टाढा रहेको देखिएको हो ।


निर्वाचन आयोगले भने समानुपातिकतर्फको सिट बाँडफाँट ‘सेन्ट लग’ विधिअनुसार आधिकारिक रूपमा निर्धारण गरेपछि मात्रै अन्तिम संख्या सार्वजनिक गर्नेछ ।


समानुपातिकमा रास्वपाको अग्रता


समानुपातिकतर्फ खसेको कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ सदर मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत प्राप्त गरेको छ । 


यो कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो । यसले राष्ट्रिय स्तरमा रास्वपाको बलियो जनमत रहेको देखाएको छ ।


कांग्रेस दोस्रो, एमाले तेस्रो


नेपाली कांग्रेस प्रतिनिधिसभाको दोस्रो ठूलो दल बन्ने देखिएको छ । 


कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गर्ने अनुमान गरिएको छ भने प्रत्यक्षतर्फ १८ सिट जितेको छ । यसरी कांग्रेसको कुल सिट संख्या ३८ पुग्ने देखिएको छ । 


अघिल्लो प्रतिनिधिसभामा कांग्रेसको ८९ सिट रहेको थियो ।


त्यसैगरी नेकपा एमालेले समानुपातिकतर्फ १६ सिट प्राप्त गर्ने अनुमान गरिएको छ भने प्रत्यक्षतर्फ ९ सिट जितेको छ । यसरी एमालेको कुल सिट संख्या २५ पुग्ने देखिएको छ । अघिल्लो प्रतिनिधिसभामा एमालेको ७९ सिट थियो ।


नेकपा चौथो शक्ति


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ९ सिट प्राप्त गर्ने अनुमान गरिएको छ भने प्रत्यक्षतर्फ ८ सिट जितेको छ । यसरी प्रतिनिधिसभामा नेकपाको कुल १७ सिट हुने देखिएको छ ।


नयाँ राष्ट्रिय दलको रूपमा श्रम संस्कृति


यसपटकको निर्वाचनबाट हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय दलको रूपमा उदाएको छ ।

 
चार महिनाअघि मात्रै गठन भएको उक्त पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ ४ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । 


यसरी प्रतिनिधिसभामा श्रम संस्कृतिको कुल ७ सिट हुने देखिएको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ ४ सिट पाउने देखिएको छ भने प्रत्यक्षतर्फ एक सिट जितेको छ। यसरी राप्रपाको कुल सिट संख्या ५ हुनेछ ।


यस निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले भने संसदमा प्रतिनिधित्व पाउन सकेनन । दुवै दलले समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन सकेनन ।


समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत यसपटक ५७ राजनीतिक दलले भाग लिएका थिए । 


तर तीमध्ये ६ दलले मात्रै न्यूनतम तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेर संसदमा प्रवेश पाउने अवस्था देखिएको छ भने ५१ दल थ्रेसहोल्ड कटाउन असफल भएका छन । 


कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने प्रावधान रहेको छ ।


सेन्ट लग विधिबाट सिट निर्धारण


निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ प्राप्त मतलाई सिटमा रुपान्तरण गर्न ‘सेन्ट लग’ विधि प्रयोग गरिन्छ ।

 
यस विधिअनुसार दलहरूले प्राप्त गरेको मतलाई १, ३, ५, ७, ९, ११ जस्ता बिजोर संख्याले क्रमशः भाग गरिन्छ । त्यसबाट प्राप्त भागफलहरूलाई ठूलोदेखि सानो क्रममा मिलाएर १ सय १० वटा सबैभन्दा ठूला भागफल चयन गरिन्छ ।


ती भागफल जुन–जुन दलको हुन्छन, सोही आधारमा प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरिन्छ ।


२८९० उम्मेदवारको जमानत जफत


निर्वाचन आयोगका अनुसार यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन । 


निर्वाचन कानूनअनुसार कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गरेमा मात्र उसको धरौटी रकम फिर्ता हुन्छ । 


१० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत रकम राज्यकोषमा जफत हुने व्यवस्था छ ।


जमानत जफत भएका उम्मेदवारमध्ये ३ सय ५० जनाले एक भोट पनि प्राप्त गर्न सकेनन । प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये ५ सय १६ जनाले मात्र १० प्रतिशतभन्दा बढी मत ल्याएर आफ्नो जमानत जोगाउन सफल भएका छन ।



निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सिट संख्या निर्धारण गरेपछि सम्बन्धित दलहरूलाई तीन दिनभित्र बन्दसूचीबाट समावेशी सिद्धान्तअनुसार सांसदको नाम सिफारिस गर्न पत्र पठाउनेछ ।


दलहरूले पठाएका नामहरू कानुनी मापदण्ड र समावेशी क्लस्टरअनुसार छन् वा छैनन् भनेर आयोगले पुनः जाँच गर्नेछ । सबै प्रक्रिया पूरा भएपछि समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex