७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

२०७९ को मत परिणाम र २०८२ को चुनावी समीकरणः काठमाडौं–५ मा कसले दोहोर्याउँछ इतिहास ?


प्रकाशित: मंगलवार, २० माघ २०८२, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि फेरि पुरानै उम्मेदारहरुको प्रतिस्पर्धा दोहोरिने भएको छ । 


२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा (एमाले) का नेता ईश्वर पोखरेल २०८२ को निर्वाचनमा पुनः आमनेसामने भएका छन । यसले काठमाडौं–५ को चुनावी राजनीति फेरि चासोको केन्द्र बनेको छ ।


२०७९ को निर्वाचनमा कुल ७८,११४ मतदाता रहेको यस क्षेत्रमा प्रदीप पौडेलले १५,२६९ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका मुख्य प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले १०,१९० मत ल्याएका थिए । मतान्तर ठूलो नभए पनि कांग्रेसले प्रत्यक्षतर्फ स्पष्ट अग्रता बनाएको देखिन्थ्यो ।


तर सोही निर्वाचनको मत परिणामले फरक सन्देश पनि दिएको थियो । 


प्रत्यक्षतर्फ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. प्रणय शमशेर राणा ५,४७७ मतसहित उभिएका थिए । 


त्यसैगरी राप्रपाका रामप्रसाद उप्रेतीले ३,१६२ मत र स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले २,७६१ मत प्राप्त गरेका थिए । यसले काठमाडौं–५ मा वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण बढ्दो क्रममा रहेको संकेत गरेको थियो ।


समानुपातिकतर्फको नतिजा झन रोचक देखिएको थियो । रास्वपा ११,६४७ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसले १०,०४३ मत र एमालेले ९,६५२ मत प्राप्त गरेका थिए । 


राप्रपाले ७,२०१ मत ल्याएको थियो भने नेमकिपा १,६१९ र नेकपा (माओवादी केन्द्र) १,२२४ मत प्राप्त गरे । 


प्रत्यक्षमा कांग्रेसको जित भए पनि समानुपातिक मतले मतदाताको झुकाव विभाजित रहेको स्पष्ट देखाएको थियो । 


आगामी फागुन २१ गते हुने निर्वाचनमा समीकरण अझै बहुपक्षीय बनेको छ ।

 
कांग्रेसबाट पुनः प्रदीप पौडेल (रुख) र एमालेबाट ईश्वर पोखरेल (सुर्य) मैदानमा रहँदा रास्वपाबाट स्मित पोखरेल (घण्टी), राप्रपाबाट कमल थापा (हलो), नेपाल कम्युनिष्ट पार्टीबाट कल्पना शर्मा (तारा), उज्यालो नेपाल पार्टीबाट श्री गुरुङ (वल्व) र गतिशील लोकतान्त्रिक पार्टी (व्याट्री बाट निशा अधिकारी चुनावी प्रतिस्पर्धामा छन ।


यस पटकको निर्वाचनमा मुख्य प्रश्न उही छ—२०७९ मा देखिएको कांग्रेसको प्रत्यक्ष अग्रता दोहोरिन्छ कि समानुपातिकतर्फ बलियो देखिएको रास्वपाको मत आधारले नयाँ मोड लिन्छ ? 
साथै, बहुदलीय प्रतिस्पर्धाले परम्परागत कांग्रेस–एमालेको मत आधार कति प्रभावित पार्छ भन्ने विषय पनि निर्णायक बन्ने देखिन्छ ।


यसरी, २०७९ को मत परिणामले देखाएको विभाजित जनमत र २०८२ को फराकिलो उम्मेदवारी सूचीले काठमाडौं–५ लाई पुनः कडा प्रतिस्पर्धाको क्षेत्र बनाएको छ । इतिहास दोहोरिने कि नयाँ राजनीतिक सन्तुलन जन्मिने—यसको फैसला अब मतदाताको हातमा छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex