काठमाडौं । बागमती प्रदेशले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा बागमतीले ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकसहित समग्र टिम च्याम्पियन बन्न सफल भयो ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सम्पन्न प्रतियोगितामा गत संस्करणको विजेता सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित रह्यो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक हात पा¥यो । ११, १२ र १३ औं संस्करणको च्याम्पियन लुम्बिनी प्रदेशले ५ स्वर्ण, १३ रजत र १५ कांस्य पदकसहित तेस्रो स्थान हासिल गर्यो।
अन्य प्रदेशहरूको प्रदर्शनमा गण्डकी प्रदेशले ४ स्वर्ण, ११ रजत र १७ कांस्य पदकसहित चौथो स्थान प्राप्त गर्यो भने कर्णाली प्रदेशले ४ स्वर्ण, ६ रजत र १९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो। मधेश प्रदेशले ३ स्वर्ण, २ रजत र १० कांस्य पदकसहित छैटौं स्थानमा रहँदा कोशी प्रदेशले स्वर्णविहीन ७ रजत र ८ कांस्य पदक हात पार्यो।
तीन दिनसम्म चलेको प्रतियोगितामा कुल ६८६ खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा एथलेटिक्समा ९ वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन्। कीर्तिमान बनाउने खेलाडीलाई जनही १० हजार नगद पुरस्कार दिइएको थियो। समावेश सबै खेलमा कुल १२ लाख रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

एथलेटिक्समा पनि बागमतीकै दबदबा
एथलेटिक्समा समेत बागमती प्रदेश टिम च्याम्पियन बन्न सफल भयो। बागमतीले १२ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो। बागमतीका अनिशा थारु र प्रवीण राना मगरले समान ४–४ स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरे।
प्रवीणले १०० मिटर, २०० मिटर, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले दौडमा स्वर्ण जिते। अनिशाले लङजम्प, ट्रिपलजम्प, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण हात पारिन्। साथै, उनले ४०० मिटर दौडमा रजत पदक पनि जितिन्।
सुदूरपश्चिमले एथलेटिक्समा ७ स्वर्ण, ७ रजत र ७ कांस्य जितेर दोस्रो स्थान हासिल गर्यो। गण्डकी प्रदेशले ३ स्वर्ण, ५ रजत र ६ कांस्य जित्दा कर्णालीले ३ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो। लुम्बिनीले १ स्वर्ण, ५ रजत र ५ कांस्य हात पा¥यो भने कोशीले ३ रजत पदक जित्दा मधेश प्रदेश पदकविहीन रह्यो।
उसुमा पनि बागमतीको वर्चस्व
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसु प्रतियोगितामा बागमतीले ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो। सुदूरपश्चिमले ३ स्वर्ण, ७ रजत र २ कांस्य जित्दै दोस्रो स्थान हासिल गर्यो भने लुम्बिनीले १ स्वर्ण र २ कांस्य जितेर तेस्रो भयो।
थाइची छ्वान स्पर्धामा बागमतीका एनेक्स महर्जन (पुरुष) र सेरिना पराजुली (महिला) ले क्रमशः ६.४८ र ६.७९ अंकसहित स्वर्ण जिते।
सान्सौंको पुरुष ४२ केजीमा लुम्बिनीका प्रदीप विष्ट, ४५ केजीमा बागमतीका रोशन थापा मगर र ४८ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी विजेता बने। महिला ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सिर्जना बिक र ४८ केजीमा बागमतीकी अनु मोक्तानले स्वर्ण हात पारे।
Categorized in मनोरन्जन