११ वर्षीया गायिका नन्दिता वैद्यको एकल गिती एल्वम ‘नन्दिता गुनगुन’ आज ललितपुरमा विमोचन भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सांगितिक एल्बम नन्दिता गुनगुनको साथै सोहि एल्वमको एउटा गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरियो ।
वाङमय शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीको साथमा नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बु, म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्मा, नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, नृत्य निर्देशक साथै म्यूजिक भिडियो निर्देशक प्रदीपमान श्रेष्ठ, नन्दिताका पिता नन्दनराज वैद्य र माता रीता नेमकुल वैद्य समेतले संयुक्त रुपमा एल्वमको विमोचन गरेका थिए ।
संस्कृतिविद् सत्यमोहन जोशीले अभिभावकले आफ्ना अधुरा इच्छाहरु सन्तानहरुकबाट पूरा गर्ने मनसायले इच्छा लादिदिने गर्दा बालबालिकामा भएका प्रतिभा हराएर जाने हुँदा यस पक्षमा अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोशीले जोड दिनुभयो । प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बुले लक्ष्यमा अगाडि बढ्दा कहिलेकाहिँ आफैसँग पनि लडाईँ हुने र यस्तो परिस्थितीमा पनि मनलाई प्रतिवद्ध बनाई पाईला बढाइ नै रहनुपर्ने सुझाव निर्देशक लिम्बुले नन्दिता साथै सम्पूर्ण कलाकारलाई दिनुभयो ।
म्यूजिक नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक सन्तोष शर्माले विकसित प्रविधीको सहि सदुपयोग गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिनुभयो । नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठले नन्दिताको कला र गायनको प्रशंसा गर्दै सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा बाल गायिक नन्दिताले एल्वमभित्रका गीत गाएर सुनाउनुका साथै बाल कलाकारहरुबाट नृत्य पनि प्रस्तुत गरिएको थियो ।

सोही कार्यक्रममै एल्वमको एउटा गीत ‘पुतलीको नाना’को म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक घिसिङले म्यूजिक भिडियो सार्वजनिक भएको घोषणा गर्नुभएको थियो । सार्वजनिक गरिएको भिडियोलाई प्रदिपमान श्रेष्ठले निर्देशन गर्नुभएको छ ।
विमोचित एल्वम ‘नन्दिता गुनगुन’मा समाविष्ट बालगीतहरुको रचना गणेशराज वैद्य ‘अपार’, चतुर्भुज केवरत, गुरुदेव कामत, उत्तम थापा मगर, डि.पि. खनालले गर्नुभएको छ भने संगीत गुरुदेव कामत र उत्तम थापा मगरले दिनुभएको छ । एल्वमलाई म्यूजिक नेपालले बजारमा ल्याएको छ ।
२०६४ असार २० गते जन्मेकि नन्दिता वैद्य हाल प्रिमियर इन्टरनेशनल स्कूलमा ६ कक्षामा अध्ययनरत छिन् । गायिक वैद्यले गुरुदेव कामत, विष्णु आचार्य र उत्तम थापा मगरबाट विगत ६ वर्षखेखि गायनको प्रशिक्षण पनि लिँदैछिन् भने उनले ईलाहावाद संगीत महाविद्यालय, भारतबाट शास्त्रीय गायनमा प्रथम वर्षको परीक्षा उत्तीर्ण गरी हाल द्वितीय वर्षमा अध्ययनरत छिन् । विद्यालयमै चर्चित नृत्य कलाकार स्वजन रघुवंशीबाट नृत्य पनि सिकिरहेकी छिन् ।
Categorized in मनोरन्जन