काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन ।
मन्त्रिपषिदका निर्णयहरुः
१) सरकारले तोकिएको उद्योग–व्यवसाय क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिएको छ ।
२) सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंक बाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
३) मन्त्रिपरिषद्ले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानविन गर्न गठित आयोगको म्याद २० दिन थप गर्ने निर्णय पनि गरेको छ ।
४) भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखि २४ गतेसम्म हुने पहिलो साउथ एशियन एग्रोफरेस्ट्री एण्ड ट्रिज आउटसाइड फरेस्ट सम्मेलनमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार र सचिव डा.राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिइएको छ ।
५) नेपाल सरकारको प्रतिनिधित्व गर्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्र मन्त्रीले गरेको भ्रमणलाई पनि मन्त्रिपरिषद्ले समर्थन गरेको छ ।
६) भक्तपुरमा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिइएको छ भने काभ्रेपलाञ्चोकको एक रोपनी जग्गा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई उपयोग गर्न दिने निर्णय भएको छ ।
७) मिति २०८१–११–२७ मा प्रतिनिधि सभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको छ ।
८) गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
Categorized in राष्ट्रिय