२५ बैशाख २०८१, मंगलबार
Header

हाँडीगाउँमा शुक्रवार सवारी निषेध गरी ‘कार फ्री डे’ मनाइयो


प्रकाशित: आइतवार, ७ असोज २०८०, १०ः१० बजे 
- महानगरखबर

काठमाडौँ । काठमाडौंको ऐतिहासिक सहर हाँडीगाउँमा गत शुक्रवार सवारी निषेध गरी ‘कार फ्री डे’ मनाइएको छ । 


सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन असोज ५ गते शुक्रबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।


सो दिन यस क्षेत्रको दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । 


यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक मार्गको रुपमा धोवीखोला कोरिडोर, गहनापोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो । 


सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गरिएको थियो । 


कार्यक्रमको अवलोकनका लागि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल गएकी थिइन । 


सो अवसरमा उनले आफू हिँडेको, खेल खेल्दै चिनेको ठाउँको बढी माया लाग्ने बताउँदै मौलिक स्थानहरुमा हिँडेर माया बसाउने कार्यक्रम थालिएको उल्लेख गरिन ।

 
कार्यक्रममा वडा नं .५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले, हाँडीगाउँको प्राचीनता फर्काउन २० बर्षको कार्यक्रम बनाएको बताए । 


उनले ‘हामीले पुनस्र्थापनाको गुरुयोजना बनाइसकेका छौँ । यसका विविध पक्षमा सरोकारवालासँग छलफल गरेका छौँ । पृष्ठपोषण लिएका छौँ । हामीले सुधारका लागि बनाएको योजना ५ बर्षको मात्र होइन । मध्यकालीन र दीर्घकालीन योजना पनि बनाएका छौँ ।’ 


कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित वडाध्यक्षहरु, वडा सदस्यहरु सहभागी थिए । 


त्यस अवसरमा साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी सञ्चालन गरेका थिए । 


हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । 


यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD