काठमाडौँ । विश्व सम्पदा क्षेत्र हनुमान ढोका क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकबाट काठमाडौं महानगरले १५ करोड ७४ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ ।
यो रकम चालु आ.व. २०८१/०८२ को बैशाख ७ गतेसम्ममा उठाएको रकम भएको महानगरको राजस्व विभागले सार्वजनिक गरेको आम्दानी विवरणमा उल्लेख छ ।
हुनमानढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गत गत आ.व.को यस अवधिमा १४ करोड ६ लाख ६३ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको थियो ।
पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी कार्यक्रमबाट १५ करोड ७८ लाख ५३ हजार ५ सय रुपैयाँ संकलन भएको छ भने गएको वर्ष यस अवधिमा १४ करोड ९ लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो ।
२०८२ बैशाख ७ गतेसम्ममा काठमाडौँ महानगरपालिकाले ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार चालु आ.व.को घरबहाल शीर्षकमा २ अर्व ११ करोड ६५ लाख ८४ हजार २७२ रुपैयाँ राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा १ अर्व ८६ करोड १२ लाख ८२ हजार २२९ रुपैयाँ संकलन भएको थियो । यस अनुसार २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको देखिएको छ ।
यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा र यस्तै सम्पत्ति करमा १५ करोड २२ लाख ४३ हजार १४५ रुपैयाँ वढी राजस्व संकलन भएको छ । गएको आर्थिक वर्षको यस अवधिमा ७९ करोड ५२ लाख ८३ हजार ६६ रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख २६ हजार २१२ रुपैयाँ संकलन भएको छ ।
न्यायिक दस्तुरमा ८४ हजार ८०५ रुपैयाँ, पर्यटन शुल्कमा १ करोड ६७ लाख ४० हजार ५ सय रुपैयाँ, भूमिकर/मालपोत करमा १ लाख ९० हजार ८७० रुपैयाँ, शिफारिस दस्तुरमा ७१ लाख २८ हजार २६८ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र दस्तुरमा ३९ लाख ५६ हजार ८८३ रुपैयाँ वढी रकम जम्मा भएको छ ।
सहरमा भवन निर्माण गर्ने स्थान सकिँदै गएपछि नक्सा पास दस्तुर घट्न थालेको अधिकारीको भनाइ छ ।
यो शीर्षकमा गएको वर्ष ४९ करोड ८२ लाख १० हजार ७१० रुपैयाँ संकलन भएकोमा यस वर्ष २९ करोड ६४ लाख ७४ हजार ५३६ रुपैयाँ संकलन भएको छ । यो गएको वर्षभन्दा २० करोड १७ लाख २६ हजार १७४ रुपैयाँ कम हो ।
अन्य प्रशासनिक सेवा शुल्कमा पनि यस वर्ष राजस्व घटेको छ । यस शीर्षकमा गएको वर्षभन्दा २ करोड ६३ लाख ९६ हजार २९९ रुपैयाँ कम राजस्व उठेको छ ।
Categorized in पालिका