काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको छ ।
गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियार सम्बन्धित निकायमा बुझाउन आग्रह गरेका हुन ।
निर्वाचनको समयमा अनुमति प्राप्त हतियारसमेत चुनौतीपूर्ण बन्न सक्ने भन्दै शान्ति–सुरक्षा मजबुत बनाउन हतियार बुझाउन निर्देशन दिइएको प्रशासनले जनाएको छ ।
यसअघि पनि प्रत्येक निर्वाचनका बेला प्रशासनले लाइसेन्सप्राप्त हतियार बुझाउन सूचना जारी गर्दै आएको छ ।
यसका साथै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ता ल्याउन प्रहरीले काम गरिरहेको बताइएको छ ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री ओमप्रकाश अर्यालले माघ महिनाभित्र अधिकांश हतियार फिर्ता ल्याउने प्रयास भइरहेको जानकारी दिएका थिए ।
प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय