काठमाडौं । एक लाखको स्वास्थ्य बीमा ५ लाख पुराउने महत्वकाक्षी योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि बढाएको छ ।
मन्त्रालयले हाल कार्यान्वयनमा रहेको एक लाख रुपैयाँको स्वास्थ्य बीमाले धेरै नागरिकलाई राहत दिए पनि यो रकम अपर्याप्त रहेको ठहर गर्दै बीमा रकम ५ लाख पुराउने योजना प्रस्ताव ल्याएका हुन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलका अनुसार मन्त्रालयका अनुसार मिर्गौला, मुटु, कलेजो, फोक्सो र मस्तिष्कघात जस्ता गम्भीर रोगको उपचारका लागि यो रकम न्यून भएको गुनासो आइरहेको थियो ।
बीमितलाई ५ लाखसम्मको उपचार सुविधा दिन स्रोत व्यवस्थापनका लागि मन्त्रालयले संघीय, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य सेवामा खर्च गर्ने वार्षिक ३१ अर्ब रुपैयाँ बीमा कोषमा समावेश गर्ने, सरकारी तथा गैरसरकारी कर्मचारीको तलबको २ प्रतिशत बीमा कोषमा जम्मा गर्ने, स्वास्थ्य कर दोब्बर गर्ने र विद्युत शुल्कको १ प्रतिशत बीमा कोषमा समावेश गर्ने योजना रहेको बताएको छ ।
साथै राज्यले लिने करको ०.५ प्रतिशत बीमा कोषमा हाल्नुपर्ने र डिजल, पेट्रोल, ग्याँसबाट बूढीगण्डकी आयोजनामा दिएको पैसालाई बन्द गरेर बीमा कोषमा लैजानुपर्ने प्रस्ताव पनि ल्याएकोछ ।
हाल बीमितले आफ्नो उपचार खर्च बापत १० प्रतिशत आफैं तिर्नुपर्ने (को–पेमेन्ट प्रणाली) मा पनि परिवर्तन गरिने छ । हाल एक लाख रुपैयाँमा १० प्रतिशत (१० हजार) तिर्नुपर्ने व्यवस्थालाई पाँच लाखमा ७ प्रतिशत (३५ हजार) मा परिवर्तन गर्ने योजना रहेको मन्त्री पौडेलको भनाई रहेको छ ।
Categorized in स्वास्थ्य