२६ फाल्गुण २०८२, मंगलबार
Nepal Bank AD 2082 mansir

स्वास्थ्य बीमाबाट थप १ लाखको सुविधा, मन्त्री पौडेलको नयाँ पहल


प्रकाशित: सोमवार, ९ असार २०८२, १२ः५० बजे
- महानगरखवर

काठमाडौं ।  अब क्यान्सर, मुटु रोग, मिर्गौला समस्या, हेड र स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरजस्ता गम्भीर प्रकृतिका रोगका बिरामीले स्वास्थ्य बीमा योजना अन्तर्गत थप एक लाख रुपैयाँको उपचार सुविधा पाउने भएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन कदम अघि बढाउँदै गम्भीर रोगहरूको उपचारमा वित्तीय सहयोग विस्तार गर्ने निर्णय लिएको हो।


स्वास्थ्यमन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य बीमा बोर्डले यो निर्णय लागू गर्ने तयारीमा जुटेको छ। बोर्डले आगामी बैठकमा प्रस्ताव पेस गरेर निर्णय प्रक्रिया अघि बढाउने बताइएको छ।


स्वास्थ्य बीमा नियमावली अनुसार थप सुविधा


स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ अनुसार गम्भीर रोग लागेका बीमितले हालसम्म १ लाख रुपैयाँको सेवा पाइरहेका थिए। अब यो सुविधा बढेर २ लाख पुग्नेछ।


यससँगै विपन्न नागरिकका लागि छुट्टै कार्यक्रमअन्तर्गत दिइँदै आएको थप एक लाखको सुविधा भने यथावत रहनेछ।


दिगोपनामा जोड, दुरुपयोग रोक्न सचेतना


स्वास्थ्य बीमा सेवामा नागरिकको आकर्षण बढाउने लक्ष्यसहित मन्त्रालयले “स्वास्थ्य बीमा थैली“ प्रणाली ल्याउने तयारी समेत गरिरहेको छ। यसअन्तर्गत विभिन्न रोगका समूह अनुसार फरक बीमा सुविधा प्याकेज तय गरिनेछ।


तर, यस्तो योजना लागू गर्दा बीमा कोषको दुरुपयोग हुन नदिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ। कोषले सेवाहरू निर्धारण गर्दा रोगको भार, स्वास्थ्य आवश्यकता, लागत प्रभावकारिता र वित्तीय दिगोपनालाई आधार मान्नुपर्ने उल्लेख छ।


स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमालाई दीगो र जनमुखी बनाउँदै कमजोर तथा गम्भीर अवस्थाका बिरामीहरूलाई प्राथमिकतामा राख्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex