३० श्रावण २०८३, शनिबार
Header

स्वास्थ्य बीमाका नयाँ आबद्धता र नवीकरण अब अनलाइनबाटै


प्रकाशित: शुक्रवार, २९ साउन २०८३, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको विवरण अद्यावधिक गर्ने प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ ।


बोर्डका अनुसार २०८३ साउन २९ गतेदेखि स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा डिजिटल माध्यमबाट लिन सकिने व्यवस्था गरिएको हो । 


‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार नयाँ प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ ।


नयाँ डिजिटल प्रणाली राष्ट्रिय परिचयपत्र (एनआईडी)सँग अन्तरआवद्ध गरिएको छ । 


एनआईडी नभएका परिवारका सदस्यले भने तत्कालका लागि अन्य परिचयपत्रका आधारमा म्यानुअल रूपमा डिजिटल विवरण पेश गरी प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ ।


अब स्वास्थ्य बीमाको प्रिमियम ईसेवा, खल्ती र कनेक्टआईपीएस मार्फत भुक्तानी गर्न सकिनेछ । व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई डिजिटल प्रणालीबाट स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सकिने बोर्डले जनाएको छ ।


त्यसैगरी, स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध परिवारले आफ्नो विवरणमा परिवर्तन भएमा ई–पोर्टलमार्फत अद्यावधिक गर्न सक्नेछन । परिवारका सदस्य थपघट, ठेगाना परिवर्तनलगायतका विवरण संशोधनसम्बन्धी प्रक्रिया पनि अनलाइनबाटै पूरा गर्न सकिनेछ ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex