काठमाडौं । चुनावी अभियानमा खटिएका नेपाली कांग्रस महामन्त्री गगन थापाले स्वर्णिम वाग्लमाथि कडा टिप्पणी गरेका छन ।
तनहुँ क्षेत्र नं.१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका वाग्लेप्रति संकेत गर्दै थापाले भने,‘मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको, म त त्यो बेलामा सडकमा लडेर बसेको ।’

तनहुँ १ मा पार्टीका उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताअघि भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसमा आफ्नो संघर्षबारे चर्चा गर्दै सो टिप्पणी गरेका थिए ।
आफूहरुले मन्त्री र सांसद बन्छु कि बन्दिनँ भनेर नहेरेको बताउँदै यस्तो हेरेको भए विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु आफ्नो समर्थक नबस्ने र आफूले पनि शेरबहादुर देउवासँग संसदीय दलको चुनाव नलड्ने उनले सुनाए ।
‘एउटा सांसद बन्ने कुरा वा एउटा मन्त्री बन्ने कुरा म बन्ने कुरा, म बाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जान्नथें’ उनने भने ।
उनले भने, ‘कहिलेकाहीं साथीहरु भन्नुहुन्छ यति वर्ष विदेशमा यो गरेर आएको, जागिर छाडेर आएको । मलाई भन्न मन लाग्छ मैले त जागिर नखाएको, तिमीले जागिर खाएर छोडेर आएको ।’
पार्टीले थापालाई तनहूँ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चितवनको क्षेत्र नं. २ मा खटाएको छ ।
आज बारा, तनहुँ र चितवनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले चुनाव जित्ने दावी गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा रमेश खरेलले उम्मेदवारी दर्ता गराएपछि नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउन आफूले उम्मेदवारी दिएको बताए ।
म बारा क्षेत्र नं २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने मतदाताहरु समक्ष विश्वास व्यक्त गरे ।
सम्पूर्ण देशमा यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिनका लागि आफ्नो उम्मेदवारी भएको भनाई राखे ।
त्यसैगरी, चितवनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १० वैशाखको उपनिर्वाचन जित्ने दावी गरेका छन ।

त्यस अनुसार आफूले टिकट पाएको र सत्ता गठबन्धनको पनि साथ पाएको श्रेष्ठले सुनाए ।
उनले आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए ।
उनले भने, स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन ।’
तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन हुने बताएका छन ।
उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उनले भने, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान गर्ने दिनको रुपमा लिएका छौं ।’

नेपालमा सुशासन नरहेको र कुशासन भएको, प्रणालीहरु असाध्यै भत्किएको बताए ।
प्रणाली भत्किएकाले नेपाल उभो लाग्न कठिन भएको वाग्लेले बताए । नेपालजस्तै मूलुकहरुले आर्थिक विकासमा गर्दा पद्धति बिग्रेकाले ती देश सरह पुग्न नसकिएको उनको भनाई थियो ।
Categorized in राष्ट्रिय