८ भाद्र २०८३, सोमबार
Header

स्थानीय तहमा मौलिक लिपि र भाषाको प्रयोग गर्न आग्रह


प्रकाशित: बुधवार, २७ चैत्र २०८१, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डले स्थानीय तहको कामकाजमा स्थानीय भाषा र लिपिको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।


बौद्ध युवा कमिटी ललितपुरले ललितपुर महानगरपालिका– ११ को सहकार्यमा मौलिक लिपिको व्यावहारिक प्रयोगको सन्र्दभमा आयोजित प्रचलित नेपाल लिपि र रञ्जना लिपि प्रशिक्षणको समापन समारोहमा उहाँले प्रशिक्षणका सहभागीहरुलाई सो आग्रह गर्नुभएको हो । 


‘लिपि सिकेर प्रमाणपत्र पाउनु तपाईमा भएको एउटा अतिरिक्त गुण हो। त्यसलाई हुर्काउन आवश्यक छ । इतिहासको अध्ययन, पुराना शिलापत्र, ताम्रपत्र पढ्न लिपिको ज्ञान अत्यन्त आवश्यक हुन्छ । त्यसका लागि स्थानीय तह, वडा कार्यालय लिपिबाट निवेदन दिन पनि सक्नुहुनेछ । ’ महानिर्देशक प्रधानाड्डले भन्नुभयो।उहाँले लिपि सिकेकाहरुलाई उत्साहित बनाउन लिपि लेखन प्रतियोगिता गर्न सकिने सुझाव दिँदै यस कार्यमा तीन वटै तहको सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।


सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले लिपिको प्रशिक्षण, प्रयोगको लागि स्थानीय तहलाई सरोकारवालाहरुले घचघच्याउनुपर्नेमा जोड दिनुभयो । 
लिपि प्रशिक्षक किरण शाक्यले लिपि भनेको संस्कृति, सभ्यताको एउटा महत्वपूर्ण पक्ष रहेकोले त्यसबारे जान्नु र बुझ्न आवश्यक रहेको बताउनुभयो।लिपिको ज्ञानले इतिहास बुझ्ने मात्र नभई प्रत्येक नेपालीले गौरव गर्न सक्ने विषय पनि रहेको प्रशिक्षक शाक्यको भनाई रहेको छ ।


सो अवसरमा बौद्ध युवा कमिटी ललितपुरका अध्यक्ष सतिश शाक्यले संस्थाले स्थानीय तहसंग सहकार्य गरी स्थापनाकालदेखि नै भाषा, संस्कृति र लिपि युवापुस्तामा हस्तान्तरण गर्न विविध कार्यक्रम गर्दै आएको बताउनुभयो। लिपि पढेका युवावर्गको सक्रियतामा महानगरीय प्रहरी प्रभाग मंगलबजारको साइनबोर्डमा रञ्जना लिपिको प्रयोगसंगै विविध क्षेत्रमा लिपिको प्रयोग बढेको पनि अध्यक्ष शाक्यको कथन रहेको छ ।


ललितपुर महानगरपालिका – ११ का वडा सदस्य कृष्ण महर्जन, सचिना परियारले मानव सभ्यताको विकासक्रममा लिपि जन्मिएको उल्लेख गर्दै त्यसको व्यावहारिक प्रयोगमा वडाले गर्दै आएको कामलाई केन्द्रीत गरी आआफ्नो भनाई राख्नुभएको थियो। सो अअवसरमा सहभागीहरुको तर्फबाट नेपालभाषा शिक्षक रोशनी प्याथं महर्जन र सञ्चारकर्मी पवित्रकुमार महर्जनले लिपिको सिकाईलाई व्यापक बनाउनुपर्नेमा जोडदिनुभयो।


गत मंसिर १५ देखि माघ ४ गतेसम्म सञ्चालित प्रचलित नेपाल लिपि र रञ्जना लिपिको प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex