काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।
महानगरको स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ बैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्नेछ ।
गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु कार्यक्रमको लक्षित वर्गमा राखिएको छ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका प्रजनन उमेरका महिलाहरु पनि प्राथमिकता राखेको छ ।
कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिनेछ ।
पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।
२०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरुमा चलाइएको निःशुल्क परीक्षणले क्यान्सरसँगै धेरै महिलाहरुमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखिएको छ ।
शिविरमा ८ हजार १४५ जना महिलाहरुले जाँच गराउनुभएको थियो । जसमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी डिएनए परीक्षण गरिएकामा ४५३ जनामा क्यान्सर पोजेटिभ देखियो ।
महानगरपालिकाका मेडिकल अधिकृत डा. दिवश न्यौपानेका अनुसार सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।
क्यान्सरबाहेक प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका थिए ।
८ हजार १४५ जनामा गरिएको स्तन क्यान्सर परीक्षणमा १ जनामा व्रेष्ट कार्सिनोमा पत्ता लाग्यो । त्यस क्रममा शंका लागेका ३१८ जनाको भिडियो एक्सरे गरिएको थियो । मेमोग्रामका लागि २८ जनालाई १५ जनालाई माइक्रोस्कोपिक परीक्षणका लागि शिफारिस गरिएको थियो ।
क्यान्सर हुने कारणहरुमा १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।
21 March 2025, Friday
Categorized in पालिका