१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

स्टार्टअप कर्जामा यी ५ क्षेत्र प्राथमिकता, १० हजार बढीको प्रस्ताव पेस 


प्रकाशित: बुधवार, १० मंसिर २०८२, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । नयाँ उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको स्टार्टअप कर्जा कार्यक्रमप्रति उद्यमीको आकर्षण झन् बढ्दो छ । 


औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु वर्षका लागि आवेदन खुला गरेपछि १० हजारभन्दा बढी उद्यमीले आफ्ना परियोजना प्रस्ताव पेस गरेका छन । 


प्रतिष्ठानले १९ कात्तिकदेखि २१ दिनका लागि आवेदन खुला गरेको थियो ।  


९ मंसिरमा सकिएको समयसीमासम्म कुल १० हजार २ सय ४४ आवेदन प्राप्त भएको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए । 


तीमध्ये २ हजार ४१ उद्यमीले कार्यालयमा भौतिक रूपमा उपस्थित भएर प्रस्ताव दर्ता गराएका थिए भने ८ हजार २ सय ३ जनाले अनलाइनमार्फत आवेदन दिएका छन । 


सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्टार्टअप कर्जा कार्यक्रममा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 


यो प्रतिष्ठानमार्फत तेस्रोपटक कर्जा प्रवाह हुन लागेको हो। गत वर्ष १ अर्ब रकम विनियोजित भए पनि ८८ करोड ६६ लाख रुपैयाँ कर्जा मात्र प्रवाह भएको थियो । 


कर्जा सीमा घट्यो, न्यूनतम भने यथावत


नयाँ ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ अनुसार अब उद्यमीले बढीमा २० लाख रुपैयाँसम्म मात्र कर्जा पाउनेछन ।


यसअघिसम्म कर्जा सीमा २५ लाख थियो । न्यूनतम कर्जा सीमा भने ५ लाख कायम राखिएको छ ।

 
कार्यविधिअनुसार दर्ता भएको १० वर्ष ननाघेको, १५ करोड रुपैयाँभन्दा कम वार्षिक कारोबार भएको तथा नवीन एवं सिर्जनशील उद्यम मात्रै कर्जाका लागि योग्य मानिनेछन । 


यसपटक कर्जा सुरक्षणका लागि अनिवार्य निक्षेप पनि कम गराइएको प्रतिष्ठानले जनाएको छ । 


विगतमा २५ प्रतिशत रकम निक्षेप गर्नुपर्ने प्रावधानमा संशोधन गर्दै यस वर्ष १० प्रतिशत मात्र छुट्याए पुग्ने व्यवस्था मिलाइएको हो । 


प्रतिष्ठानले कुल बजेटमध्ये ३ प्रतिशत प्रशासनिक खर्च कटाएर बाँकी रकम कर्जाका रूपमा प्रवाह गर्नेछ ।


मुख्य पाँच क्षेत्रलाई प्राथमिकता



कृषि, वन तथा उत्पादनमूलक उद्यम


सूचना तथा डिजिटल प्रविधि


पूर्वाधार तथा यातायात सेवा


सामाजिक सेवा तथा पर्यटन


परम्परागत तथा स्थानीय स्रोतमा आधारित उद्यम


२ करोड ९० लाख रुपैयाँ ऋण फिर्ता


प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताका अनुसार स्टार्टअप कर्जाको प्रभावकारिता राम्रो देखिएको छ । 


उनका अनुसार पहिलो र दोस्रो वर्षका ऋणीहरूले ३ प्रतिशत ब्याजदरमा नियमित किस्ता तिर्दै आएका छन ।  


“हालसम्म २ करोड ९० लाख रुपैयाँ सरकारी खातामा ऋण फिर्ता भइसकेको छ,” गुप्ताले भने । 


उनका अनुसार स्टार्टअपको वृद्धि सम्भावना बढेका कारण कार्यक्रमलाई विस्तार र सुधार गर्नुपर्ने आवश्यकता बढ्दो छ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex