२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सूचनाको हक कार्यान्वयन प्रभाकारी हुनुपर्नेमा जोड


प्रकाशित: शुक्रवार, २२ चैत्र २०८१, १२ः४० बजे
- महानगरखवर

ललितपुर । सूचनाको हक कार्यान्वयन गर्दा भ्रष्टाचार नियन्त्रणमा रणनीतिक काम हुन्छ भन्दै सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारीहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 


जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा बुधबार आयोजित नागरिकको सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका सम्बन्धी छलफल तथा वैठकमा आफ्नो भनाई राख्नुहुँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सार्वजनिक निकाय तथा कार्यालयहरुले संवत्ः प्रकाशन गर्ने सूचना नियमित प्रकाशन गर्नुका साथै मागकर्ताले माग गरेको सार्वजनिक निकायको सूचना सहज रुपमा उपलब्ध गराउने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो ।


“सूचना अधिकारीहरूको क्षमता अभिबृद्धिका लागि सम्बन्धित कार्यालयले पनि ध्यान दिनुपर्छ, सूचना अधिकारीले आफ्नो कार्यालयको सूचनामा नियमित अध्यावधिक भएर रहनु अनिवार्य छ, सूचना मागकर्ताले माग्न आएपछि मात्रै सूचना अधिकारी सूचना खोज्न थाल्ने गर्दा प्रभावकारी हुँदैन, सूचनाको हक मानव अधिकार र मौलिक हकसंग पनि जोडिएको छ।“ उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी ढकालले सूचनाको हक कार्यान्वयनमा सूचना मागकर्ताको सम्मान सूचना मागकर्ता र दाताको सम्मानलाई ध्यानमा दिएर कार्यान्वयन गरी सुशासन प्रवद्र्धनमा जोड दिनुभयो । उहाँले सूचनाको हक कार्यान्वयन गर्दा भ्रष्टाचार नियन्त्रणमा रणनीतिक काम हुन्छ भन्दै सूचनाको प्रभावकारी परिचालनले पारदर्शिता कायम गर्छ भन्नुभयो ।


सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हक सम्बन्धी  ऐन, यसको उद्देश्य, ऐतिहासिक पृष्ठभूमि, सूचनाको हक सम्बन्धी संवैधानिक र कानूनी प्रबन्धका बारेमा ललितपुर जिल्लास्थित कार्यालयका सूचना अधिकारीहरुलाई सहजीकरण गर्नुभएको थियोे । उहाँले सूचनाको हकको कार्यान्वयनका लागि प्रचलनमा रहेका संरचनागत प्रबन्धका बारेमा जानकारी गराउँदै नागरिकको हक कुण्ठित हुनेगरी विगतका सरकारले सूचनाको बर्गीकरणमा गरेका गल्तीका बारेमा जानकारी गराउनुभएको थियोे ।


“सूचनाको मागकर्ताले मागेअनुसारको सही सूचना सही समयमा उपलब्ध गराउनु सूचना अधिकारीहरुको पहिलो काम हो, सुशासनको प्रत्याभूतिका लागि सूचनाको हकको महत्त्व र भूमिका हुन्छ। “ उहाँले भन्नुभयो ।


बागचन्दले नपढेको र लेख्न नजान्ने व्यक्तिको निवेदन लेखेरै प्रक्रिया पुर्‍याएर सूचना दिने प्रणालीको कानूनी प्रबन्ध भएकोले सोही अनुसार सूचना दिने पद्धतिको विकास समेत गर्नुपर्नेमा सुसूचित गराउनुभयो । 


सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सार्वजनिक सरोकारको सूचना सहजरूपमा उपलब्ध गराउनु सार्वजनिक निकायको दायित्व भएको भन्दै  सुचना बर्गीकरण र अद्यावधिक गरी समय समयमा सार्वजनिक, प्रकाशन तथा प्रसारण गरेर सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने दायित्वबाट विमुख हुन नहुनेमा सुसूचित गराउनुभयो। उहाँले हरेक निकायले आपनो काम कारवाही खुला र पारदर्शी रुपमा गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

 

4 April 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex