काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूविरुद्ध जरिवाना असुल्न थालेको छ।
आइतबारदेखि सुरु गरिएको कारबाहीमा अहिलेसम्म १७ जना जरिवानामा परेका छन ।
उनीहरूले जनही ५०० रुपैयाँका दरले जरिवाना तिरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
सार्वजनिक स्थानमा धुम्रपान नगर्न साउन मसान्तसम्म जनचेतनामूलक कार्यक्रम चलाएका थियौं ।
तर अबदेखि जरिवाना तिराउने काम सुरु गरेका छौं, पाण्डेले भने ।
महानगर प्रहरीले पहिलो दिनमै धुम्रपान गर्नेबाट ८ हजार ५०० रुपैयाँ उठाएको छ ।
सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिँदा तत्कालै जरिवाना असुल्ने व्यवस्था गरिएको पाण्डेले बताए। जरिवाना भुक्तानीका लागि नगर प्रहरीले क्युआर स्क्यानसहितको सुविधा ल्याएको छ ।
सहप्रवक्ता ध्रुव काफ्लेले महानगरले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ कार्यान्वयन मात्र गर्न थालेको स्पष्ट पारे ।
सार्वजनिक स्थानमा धुम्रपान गर्दा अन्य व्यक्ति र बालबालिकामा असर पर्ने हुँदा नियमन आवश्यक छ, काफ्लेले भने ।
हामीले खानै पाइँदैन भनेका छैनौं, तर तोकिएको ठाउँबाहिर सार्वजनिक स्थानमा खान नहुने व्यवस्था मात्र लागू गरेका हौं ।
Categorized in पालिका