११ बैशाख २०८१, मंगलबार
Header

सार्वजनिक यातायात ३ हप्ता बन्द गर्नु पर्ने सुझावः नगरपालिका फोरम


प्रकाशित: आईतवार, २५ श्रावण २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । उपत्यका नगरपालिका फोरम अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहितको टिमले उपत्यकामा कोरोना संक्रमण तिव्र रुपमा बढदै गएकोमा सीसीएमसी का संयोजक तथा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन । 


फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको छलफलमा सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएको फोरमका सचिव श्रेष्ठले वताए । 


प्रमुख शाक्यले काठमाडौँ उपत्यका मुलुकको राजधानी समेत हो । यहाँको घनावस्ती युक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाई गर्न हामीले सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेको जानकारी दिए । 


उपत्यकावासीको मागका बारेमा जानकारी गराएकोमा संयोजक पोख्रेल आफूहरुको मागप्रति सकारात्मक रहेको र आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिवद्धता व्यक्त समेत गरेको प्रमुख शाक्यले वताए । 


छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टायन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टायन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले दिए । 


‘उपत्यकामा समूदाय स्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा ¥्याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न पनि हामीले सुझाव दिएका छौँ,’ उहाँ मेयर शाक्यले भन्नुभयो, ‘जात्रा–पर्व विधिपूर्वक सामान्य रुपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौ । सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौं ।’
प्रमुख शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावी रुपमा लुकीलुकी उपत्यका भित्रिने गरेको र उनीहरुका कारण समूदायस्तरमा सम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरुलाई कारवाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत आग्रह गरे ।


त्यसैगरी, छलफलमा फोरमका सचिव श्रेष्ठले उपत्यकामा संक्रमणको जोखिम युक्तबाट स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, डेलागाडा, साईकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । 
तरकारी व्यापारलाई साँझ,–विहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्न सुझाव दिएको श्रेष्ठको भनाई छ । 


आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ महलहरु संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ । 


फोरमले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि वृद्ध–वृद्धा बाहिर निस्किने र संक्रमणको खतरा बढी हुने भन्दै त्यसको नविकरणका लागि म्याद थप गर्न पनि सुझाव दिएको छ ।  


फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव श्रेष्ठसहितको शनिवार बसेको छलफलले  मन्त्री पोखरेललाई भेटी सुझाव दिने निर्णय गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD