२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सांस्कृतिक उत्सवका साथ काष्ठमण्डपको मूल खम्बा उठाइयो


प्रकाशित: आईतबार, २७ माघ २०७५, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरको पहिचानको रूपमा रहेको ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणका क्रम आइतवार काष्ठमण्डपका चार मूल खम्बा उठाउने कार्य सम्पन्न भयो । काष्ठमण्डप पुनर्निर्माणमा यो खम्बा उठाउने कार्यलाई सबैभन्दा महत्वपूर्ण कार्यको रुपमा लिइएको छ । 


काष्ठमण्डपको प्रमुख अंग भएकाले यो खम्बा उठाउने कार्य आइतवार एक सांस्कृतिक उत्सवका रूपमा सम्पन्न गरिएको थियो । काष्ठमण्डपको काठसम्बन्धी कार्य भइरहेको कालभैरव क्षेत्रमा तान्त्रिक एवं वैदिक विधिबाट संकल्प पुजा गरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक साथै प्रदेश ३ का सांसद राजेश शाक्यले काष्ठमण्डपका काठसम्बन्धी कार्य गरिरहनुभएका मुख्य नाइके लक्ष्मीभक्त राजचलालाई सबै खम्बाहरू हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि मुख्य खम्बाहरू बोकेर काष्ठमण्डप क्षेत्रसम्म पु¥याइएको थियो । 


मुख्य खम्बा उठाउने उक्त कार्यमा काठमाडौं महानगरका सम्पूर्ण जनताको प्रतिनिधिका रूपमा महानगरका ६३ वटा परम्परागत टोलका ज्यापु नायः, १८ वटा बहाल र १८ वटा बहीका चक्रेश्वरहरू लगायत महानगरका सम्पूर्ण जातीय गुठीका नायःहरूको उपस्थिति रहेको थियो । 


साथै काठमाडौं महानगरका जीवित देवी कुमारी, मखन कुमारी, गणेश र भैरव लगायत पञ्चबुद्धलाई पनि कार्यक्रममा विराजमान गराइएको थियो । कार्यक्रममा काठमाडौंका सांसद लगायत विभिन्न वडाका वडाध्यक्ष र स्थानीय भाषा, धर्म, जाति क्षेत्रका विशिष्ट अगुवाहरूको पनि उत्साहपूर्ण उपस्थिति रहेको थियो । मुख्य खम्बाको संकल्प पूजा हुँदा स्थानीय नेवाः परम्परा अनुसार सहभागी सबैले अक्षेता छर्किने (कीगः तीगु) कार्य पनि गरेका थिए । 


काष्ठमण्डपको मूल आधारका रूपमा उठाउनु पर्ने यी चार वटा खम्बा मध्ये तीन वटा नयाँ नै बनाइएको थियो भने एउटा पुरानै प्रयोग गरिएको थियो । पुरानो खम्बा वैज्ञानिक परीक्षणबाट प्रयोग गरे पनि हुन्छ भन्ने ठहर भए पछि त्यसलाई पनि प्रयोग गर्ने निर्णय पुनर्निर्माण समितिले गरेको थियो । ती चार वटा खम्बाहरू स्थानीय मरु टोल, तःब्व भिमसेन टोल, ओमबहाल टोल र मखन टोलका स्थानीयवासीले बोकेर लगेका थिए । काष्ठमण्डप महानगरपालिकाका चार वटा वडाहरू (१९, २०, २३ र २४) अन्तर्गत रहेको हुनाले ती चार वटै वडाको प्रतिनिधिका रूपमा चार वटा टोलले बोक्ने कार्य गरिएको थियो । खम्बा बोकेर लैजाँदा परम्परागत नाय्खिं, धाः, धिमे, बाँसुरी र दाफा बाजाका साथ अगाडि बढाइएको थियो । 


पुनर्निर्माण समितिका अध्यक्ष शाक्यका अनुसार यो मूल खम्बा उठाइसके पछि अब काष्ठमण्डपको पहिलो तल्ला बनाउने कार्य आरम्भ हुनेछ । समितिले यही आउँदो असार मसान्त सम्ममा काष्ठमण्डपको पहिलो तल्ला उठाइसक्ने लक्ष्य राखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex