काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद अमरेशकुमार सिंहको एक विवादास्पद अभिव्यक्तिले संसदमा चर्को विवाद सिर्जना गरेको छ।
सिंहले बजेट केही जिल्लामा मात्र केन्द्रित भएको भन्दै अन्य जिल्लालाई अर्का देशलाई लिजमा दिनुपर्ने टिप्पणी गरेका थिए। उनले भने, “चार–पाँच वटा भाग्यमानी जिल्लाहरू नेपालमै राखौं, बाँकी ७२ जिल्लालाई अमेरिकालाई दिऊँ, चाइनालाई दिऊँ, भारतलाई दिऊँ – बजेट नै नपठाउने हो भने किन राख्ने?“
सिंहको यस्तो अभिव्यक्तिपछि नेकपा (एमाले) आक्रोशित बन्यो। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ अनुसार नियमापत्ति जनाउँदै सिंहको टिप्पणी प्रति कडा असहमति जनाए।
सर्लाही जिल्लाको बजेटप्रति गुनासो
सिंहले सर्लाही जिल्ला बञ्चित भएको गुनासो गर्दै भने, “काठमाडौंमा १३१ वटा योजना छन्, मेरो जिल्लामा १५–२० वटा पनि छैनन्। सर्लाहीका जनतालाई २० वटा योजना राखेको भए हुन्थ्यो।“
सिंहले मधेस प्रदेशलाई उपेक्षा गरिएको आरोप लगाउँदै थपे, “सुदूरपश्चिममा गेटा मेडिकल कलेज खोल्ने तर मधेसमा एउटा पनि मेडिकल कलेज नखोल्ने? यो त बजेटलाई निजी सम्पत्ति ठानेजस्तै हो।“
सभामुखले हस्तक्षेप गर्दै बोले
सिंहको वक्तव्यपछि प्रमुख सचेतक बर्तौलाले तत्कालै बोल्न खोजे। त्यसक्रममा सभामुख देवराज घिमिरेले सिंहलाई रोकेर बर्तौलालाई बोल्ने अनुमति दिएका थिए।
सांसद सिंहको अभिव्यक्ति संसद र बाहिर दुबैतर्फ चर्को आलोचना र बहसको विषय बनेको छ। अब सत्ता र प्रतिपक्षबीचको बजेट बहस थप चर्किने संकेत देखिएको छ।
Categorized in राष्ट्रिय